नेपाल-भारत सीमामा आगलागी, २ बालबालिकाको मृत्यु, एक घाइते

अ+
अ
अ-

बर्दिया — नेपाल–भारत सीमासँग जोडिएको भारतको सलारपुर गाउँमा मंगलबार दिउँसो भिषण आगलागी भएको छ । आगलागीबाट २ बालबालिकाको मृत्यु भएको छ । गुलरिया नगरपालिकासँग जोडिएको उत्तरप्रदेशको बहराइच जिल्ला सलारमा लक्ष्मण रायको घरमा आगलागी भएको हो ।
उनको घर छोरीको विवाहको तयारी भइरहेको थियो। सोही क्रममा ग्यास सिलिण्डर बिस्फोट हुँदा आगलागी भएको स्थानीय जिडी गौतमले बताए।आगलागीबाट सलारपुरकी ३८ वर्षीया मुनिया रैदास र उनकी १५ वर्षीया छोरी करिश्मा रहेको स्थानीयले जनाएका छन् ।

शरीर पुर्णरुपमा जलेकाले पहिचान नभएको स्थानीय कमलेश रायले बताए। दिउँसो चलेको हावाले आसपासका करिब दुई दर्जन घर पनि जलेका छन्। आगोको धुवाले सिमावर्ती नेपाली बस्ती ढाकेको छ।

आगलागीबाट स्थानीय १३ वर्षीय नीरज गौतम भने घाइते भएका छन्। सख्त घाइते गौतमको गुलरियास्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ। आगो नियन्त्रण गर्न गुलरिया नगरपालिकाको दमकल पुगेको थियो।
सीमावर्ती भारतीय नागरिकको आग्रहमा दमकल छिमेकी मुलुक भारत पठाएको गुलरिया नगर प्रमुख मुक्तिनाथ यादवले बताए। आगो निभाउन ठूलो संख्यामा नेपालीहरू सलारपुर पुगेको उद्योग वाणिज्य संघका उपाध्यक्ष मनोजकुमार यादवले बताए। आगो नियन्त्रण गर्न करिब २ घण्टा लागेको थियो।