काठमान्डौ , पृथ्वी राजमार्ग अन्तर्गत त्रिशुली नदीमा बनिरहेको आर्क ब्रिजकाे निर्माण कार्य सकिएकाे छ ।मुग्लिनको पुरानो पुल जीर्ण र कमजोर भएपछि विसं २०७१ बाट निर्माण शुरु गरिएको साे पुल पटक पटक समय थप्दै निर्माण कम्पनी बैशाख महिना भित्र सकेकाे हाे ।पुल निर्माणको ठेक्का चारबर्षअघि नै भएको थियो । ७४ सालको असार मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने सम्झौता भएपनि काम बाँकी रहेकाले २०७६ सालको बैशाख मसान्तसम्म म्याद थप गरिएको थियो । थप भएको म्यादभित्र काम सकिने योजना कार्यालयले जनाएको छ ।

१ सय ६० मिटर लामो चितवनको मुग्लिन र तनहुँ जोड्ने यो पुलको निर्माण कार्य पूरा भइसकेको सडक विभाग अन्तर्गतको पुल महाशाखाले जनाएकाे छ। अब रंगरोगनको काम मात्र बाँकी रहेको पुल बिभागले जनाएको छ । जेठको १५ गते प्रधानमन्त्री केपी शर्मा अाेलीको हातबाट उद्घाटन गर्ने तयारी गरिएको पुल योजना सेक्टर नं २ का योजना प्रमुख अंगलाल रोकायाले जानकारी दिए ।‘निर्माणको काम सकियो । अब पेण्टिङको काम बाँकी छ’,उनले भने, ‘पुल भन्दा सडकको लेभल केही माथि भएकाले त्यसलाई पनि मिलाउनु पर्नेछ ।’
नयाँ पुल निर्माण भएपनि पुरानो पुललाई पनि यथावत राखिने पुल बिभागको योजना छ ।‘नारायणगढतिरबाट आउने गाडीलाई पुरानो पुलबाट र पोखरातिरबाट आउने गाडीलाई नयाँपुलबाट गुडाउने भन्ने हाम्रो योजना छ’, उनले भने, ‘नयाँ पुल चालु भइसकेपछि पुरानो पुलको मर्मतसम्भार गर्नेछौं ।’नयाँ प्रकृतिको काम, नदीमा पानीको बहाव ठूलो हुनु र नारायणगढ–मुग्लिन सडक स्तरोन्नतिको समयमा सडक अवरुद्ध भई सामान ढुवानीमा समस्या हुँदा निर्धारित समयमा पुल निर्माण सम्पन्न हुननसकेको उनले बताए ।चीनमा पढेर आएका नेपाली इञ्जिनीयरले डिजाइन गरेको यो दोस्रो आर्क ब्रिज हो ।
पहिलो चोभारमा परीक्षणका रूपमा निर्माण गरिएको छ । यो पुल नेपालमा निर्माण हुँदै आएका पुलका डिजाइनभन्दा फरक भएको निमार्णकर्ताको दावी छ ।मुग्लिन र तनहुँ जोड्ने निर्माणाधीन आरसिसी मोटरेवल आर्क ब्रिज पूरा भएपछि दुईतर्फी आवगमन सहज हुने अपेक्षा गरिएको छ । विश्व बैंकको १२ करोड लागतमा यो पुल निर्माण गर्न लागिएको हो ।


