काठमाडौं। जिल्लाको आदर्श गाउँपालिका–१ भेलगडाका स्थानीय वासीले बाख्राको मासु खाँदा सो गाउँका १५ बिरामी परेका छन् । सायल गाउँ पालिकाका स्थानीय तथा नेकपाका नेता तेजबहादुर डुम्रेलले दिनुभएको जानकारी अनुसार गाउँमा शनिबार स्थानीयवासीले बाख्रा काटेर मासु खाँदा दुई वर्षीया बालक देखि ४० वर्षसम्मका स्थानीयवासी एकाएक बिरामी परेका हुन् ।

बाख्राको मासु खाएर बिरामी परेका मध्ये १२ लाई दिपायलको पिपल्ला स्थित शैले श्वरी अस्पतलामा उपचारका लागि ल्याइएको छ भने बाँकी तीन जनाको स्थानीय मौवा स्वास्थ्य चौकीमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख कमलापती पन्तले बताउनु भयो । उहाँले भन्नुभयो, “बाख्राको मासु खाएर गम्भीर बिरामी भएकामध्ये १२ को दिपायलमा उपचार भइरहेको र बाँकी तीन समान्य बिरामीको गाउँमै उपचार भइरहेको छ ।”
इलाका प्रहरी कार्यालय दिपायलले दिएको जानकारी अनुसार बाख्राको मासु खाएर गम्भीर बिरामी परेकामा आर्दश गाउँपालिका–१ भेलगडाकी नौ वर्षीया सरस्वती खड्का, सोही वडाका २९ वर्षीय प्रेम खड्का, ३८ वर्षीय पदम खड्का, २६ वर्षीय नारायण खड्का, १३ वर्षीया पार्वती खड्का, ११ वर्षीया कल्पना खड्का, २७ वर्षीया इस्सरादेवी खड्का, तीन वर्षीया उर्मिला खड्का रहेका छन् ।
त्यसै गरी अन्य बिरामी हुनेमा आर्दश गाउँपालिका–१ भेलगडाकी दुई वर्षीया एलिसा खड्का, सोही वडाका आठ वर्षीय रोशन खड्का, ४० वर्षीया शान्ति देवी खड्का, सात वर्षीय रोहन खड्का रहेका छन् भने अन्य तीन ३२ वर्षीया मानी खड्का, १३ वर्षीय नारद खड्का र १२ वर्षीया अनिशा खड्काको गाउँमै उपचार भइरहेको छ । स्थानीयवासीका अनुसार बिरामी परेकाले शनिबार गाउँमा बाख्रा काटी काँचो मासु खाएका कारण बिरामी परेका हुन् ।
उता शैले श्वरी अस्पताल दिपायल पिपल्लाका चिकित्सक तथा निर्देशक आइजङ्ग कुँवरले मासु खाएर बिरामी परेका मध्ये केहीको अवस्था गम्भीर रहेको र केहीलाई क्रमिक रुपमा सुधार भइरहेको बताउनु भयो । “स्थानी यवासीले खाएको बाख्रामा केही न केही रोग भएको हुनु पर्छ”, उहाँले भन्नु भयो, “अहिले केहीको अवस्था सुधार भएको र साना केटाकेटीलाई भने अहिले पनि समस्या नै छ ।” बाख्राको मासु खाँदा किन यसरी गाउँले बिरामी परे त्यो विषयमा खोजबिन र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताउनुभयो ।


