सेनाले बारा–पर्सा टोर्नेडो पीडितका लागि यसरी बनाउँदैछ घर

अ+
अ
अ-

नेपाली सेनाले साउन १२ मा हस्तान्तरण गर्नेगरि बारा र पर्सामा १४ सय ५३ वटा घर निर्माण गर्दैछ। यसका लागि सेनाका २६ सय अधिकृत र जवान फिल्डमा खटिनेछन्।सेनाले निर्माण अवधिभर फिल्डमै ब्यारेक बनाएर काम गर्नेछ।‘अप्रेसन जनता आवास’ नाम दिईएको निर्माण कार्यको २८ बाहिनी अड्डाले प्रदेश सरकारसँग समन्वयनमा काम गर्नेछ। प्रदेश मुख्य सचिवको नेतृत्वमा रहने पूर्नस्थापना तथा घर पूनर्निर्माण सहजीकरण समितिसँगको सहकार्यमा निर्माण हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

प्रदेशका मुख्य सचिवको अध्यक्षतामा रहेको समितिमा दुबै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सहरी विकास मन्त्रालयका प्रतिनिधी र सेना सदस्य छन्। ‘कार्यबाहक प्रधानमन्त्री र मुख्यमन्त्रीबाट शनिबार विधिवत शुभारम्भ हुनेछ,’ सैनिक प्रवक्ता सहायक रथी बिज्ञा नदेब पाण्डेले नेपालखबरसँग भने ‘बाराका ९ र पर्साका ३ स्थानमा एकसाथ काम सुरु गर्छौ।’सेनाले निर्माण गर्ने घर २ कोठा, एउटा भान्छा र शौचालय सहितको हुनेछ। ढलान सहितको जग, ईटाको गारो र जस्ताको छाना हुनेछ। सेनाले प्रतिघरको लागत ५ लाख ४५ हजार अनुमान गरेको छ।

‘सेनाले सुरक्षित घर बनाएर पीडितहरुलाई समयमै हस्तान्तरण गर्नेछ,’ सहायक रथी पाण्डेले भने ‘निर्माणका लागि आवश्यक जनशक्ति परिचालन भएको छ।’ उनका अनुसार घरहरु वातावरणमैत्री हुनेछन्।घर निर्माणका लागि नेपाल सरकार मन्त्रिपरिषद्को २१ चैत २०७५ को बैठकले सेनालाई जिम्मेबारी दिएको थियो। त्यसको एक महिना पछि सेनाले घर निर्माण सुरुवात गर्न थालेको हो। यसका लागि सरकारले ४८ करोड ६८ लाख रुपैयाँ सेनालाई दिएको छ। ‘सेनाकै इन्जिनियरिङ विभागले नक्सा सहितको डिजाईन बनाएको छ,’ सहायक रथी पाण्डेले भने ‘प्राकृतिक विपत्तीबाट जोगाउन सक्ने घर बनाउने छौं।’

प्रतिक्रिया दिनुहोस्