सरकारको नीति तथा कार्यक्रम पूर्वाधार विकासमा केन्द्रित

अ+
अ
अ-

– रमेश लम्साल : सरकारले भौतिक पूर्वाधारको विकास तथा राष्ट्रिय गौरवका आयोजनालाई समयमै सम्पन्न गर्ने गरी पुनः प्राथमिकतामा राखेको छ । निर्माणमा रहेका गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, माथिल्लो तामाकोशीजस्ता आयोजनामा देखिने गरी प्रगति भएपछि सरकारले आर्थिक समृद्धिको आधारमा रुपमा समेत त्यही क्षेत्रलाई अगाडि सारेको छ । कहीँ पनि केही भएन, सरकारले काम नै गर्न सकेन भन्नेजस्ता आरोपलाई केही ठूला आयोजनामा देखिएको प्रगतिले समेत मित्थ्या सावित गरिदिएको छ ।

निराशा मात्रै छ भन्नेहरुलाई समेत केही आयोजनामा देखिएको प्रगतिले सरकार केही गर्दैछ र देश बन्दैछ भन्ने सन्देश समेत दिएको छ । उक्त सन्दर्भमा सरकारले आफ्नै निकायलाई जिम्मेवार बनाउने र निर्माण व्यवसायीलाई समयमै काम सम्पन्न गराउन सार्थक प्रयासको समेत थालनी गरेको छ । पूर्वपश्चिम विद्युतीय रेलमार्ग, उत्तर दक्षिण करिडोर, मध्यपहाडी लोकमार्ग, मदन भण्डारी लोकमार्गजस्ता भौतिक पूर्वाधारका क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखी सोहीअनुसारको स्रोत तथा साधन परिचालन गर्ने लक्ष्य राखेको छ ।

समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा प्राप्त गर्दै, आर्थिक, सामाजिक, सांस्कृतिक विकासका उद्देश्य, लक्ष्य तथा रणनीतिक र कार्यनीतिसहितको स्पष्ट राष्ट्रिय खाकामा अगाडि बढ्ने सोच राखिएको छ । भौतिक पूर्वाधारको विस्तार र गुुणस्तरमा फड्को मारेको र एक वर्षको अवधिमा एक हजार ६०० किलोमिटरभन्दा बढी सडक कालोपत्र भएको सन्दर्भमा सहज पहुँच र सम्पर्क सञ्जालको विस्तारमा समेत सरकारको नीति तथा कार्यक्रमले जोड दिएको छ ।