भारतको चुनाव लक्षित नेपाली सुरक्षाकर्मीको संयुक्त गस्ती

अ+
अ
अ-

बाँके । भारतमा भइरहेको लोकसभा निर्वाचन लक्षित गरि नेपाल–भारत सीमामा संयुक्त गस्ती थालिएको छ। सीमामा खटिएको नेपालको सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले शुक्रबार र शनिबार संयुक्त गस्ती गरेका हुन्।

सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण हेडक्वाटर वागेश्वरीका गणपति (एसपी) भेषबहादुर शाह र एसएसबी बटालियन ४२ नम्बरको कम्पनी मुन्सीपुरुवाका कम्पनी कमाण्डर सुकुमारदेवा बर्माको संयुक्त टोलीले शुक्रबार २६ देखि २९ नम्बर जंगेपिलरसम्म संयुक्त गस्ती गरेको थियो।

संयुक्त गस्तीमा २५ जना नेपाली र १६ जना भारतीय सुरक्षाकर्मी सम्मिलित थिए। भारतको बहराइच जिल्लामा सोमबार हुने चुनावलाई मध्यनजर गर्दै गर्दै दशगजामा संयुक्त गरिएको हो। एसपी शाहले सीमा क्षेत्रमा हुने अपराधिक गतिविधि रोक्न र दुई देशका बीचमा भाइचाराको सम्बन्धलाई प्रगाढ बनाउन संयुक्त गस्ती गरिएको बताए।

शनिबार कालाबन्जर बिओपीका प्रहरी निरीक्षक गणेश सिंह र एसएसबीका सई थन्कोमाङ वाइपेको टोलीले सन्तलियादेखि मौलोनापुरुवासम्म संयुक्त गस्ती गरेको छ। १९ देखि २५ नम्बरसम्मको जंगेपिलरमा संयुक्त गस्ती गरिएको थियो।

प्रहरी निरीक्षक सिंहले हप्तारपन्ध्र दिनमा संयुक्त गस्ती भइरह पनि यसपाली भने चुनावलाई लक्षित गरेर गरिएको बताए। नेपालका १३ र भारतका ११ जना गस्तीमा सम्मिलित थिए। भारतमा भइरहेको लोकसभा चुनावलाई लक्षित गरेर शनिबार साँझ ६ देखि सोमबार साँझ ६ बजेसम्म बाँके र बर्दियाका नाका सील हुँदैछ।