द्रौपदीको किन भए पाँच पति ? यस्तो उल्लेख छ धर्मशास्त्रमा

अ+
अ
अ-

काठमाडौं । महाभारतकी अमर पात्र द्रौपदी आफ्ना पाँच पति रहेका थिए । द्रौपदीले अर्जुनसँग मात्र विवाह गरेकी हुन् तर उनको सम्बन्ध अर्जुनका दाजुभाइसँग हुन पुग्यो । वनवासमा रहँदा अर्जुनले ब्राह्मणको भेष बनाएर द्रौपदीलाई स्वयंबरमा जितेका थिए । प्रतिबिम्बमा हेरेर माछाको आँखामा निशान लगाउने परीक्षा जितेपछि द्रौपदी अर्जुनकी भइन् । तर अर्जुनका दाइ युधिष्ठिरले पहिला आफ्नो विवाह हुनुपर्ने बताए । अनि राजकुमारी द्रौपदी सबै पाण्डव भाइको पटरानी हुनुपर्ने पनि भने ।

द्रुपदले यस्तो बहुपतिमा आपत्ति उठाएपछि वेदव्यासले उनलाई द्रौपदीको पूर्वजन्मका बारेमा सम्झाएर राजी गराए । पूर्वजन्ममा भगवान् शिवसँग हडबडाएर पाँच वर मागेका कारण द्रौपदीले पाँच पति पाउने रहस्य रहेको वेदव्यासले सम्झाए ।

पाँचै पाण्डवले फरक फरक दिनमा द्रौपदीको पाणिग्रहण गरे । पछि पाँचै पाण्डवबाट द्रौपदीले एक एक वर्षको अन्तरालमा एक एक पुत्र जन्माइन् । युधिष्ठिरको प्रतिविन्ध्य, भीमसेनको सुतसोम, अर्जुनको श्रुतकर्मा, नकुलको शतानीक र सहदेवको श्रुतसेन नामक छोरो जन्मिए ।

पाण्डवहरूले अन्य पत्नीसँग पनि विवाह गरेका थिए र उनीहरूबाट पनि सन्तान जन्माएका थिए । तर सबैले द्रौपदीलाई नै महारानी मान्थे ।