केटी जिस्काएको भन्दै बेहुली पक्षले कुटेपछि जन्तीको मृत्यु, प्रहरी कार्यालयमा ढुंगामुढा

अ+
अ
अ-

गोरखा । गोरखामा एक जन्तीको मृत्यु भएको विषयले पालुङटार तनावग्रस्त बनेको छ । लम्जुङको राइनास नगरपालिका–४ अल्काटारबाट गोरखा आएको जन्तीको बेहुली पक्षको कुटाइबाट मृत्यु भएको दाबी गरिएको छ । अल्काटारबाट जन्ती आएका विष्णुबहादुर कुमालको स्थानीयको कुटपीटका कारण मृत्यु भएपछि अल्काटारबासीले इलाका प्रहरी कार्यालय पालुङटारमा ढुंगामुढा गरेका हुन् ।

पीडित पक्षले उचित क्षतिपूर्तिको माग गर्दै दोषीलाई कारवाही हुनुपर्ने माग गरेका छन् । करिव दुई सय जनाको संख्यामा आएका अल्काटारका स्थानीयले बिहीवार इलाका प्रहरी कार्यालय पालुङटारमा ढुङ्गामुढा गरेका हुन् ।

ढुङ्गामुढा प्रहारबाट केही प्रहरी घाइतेसमेत भएका छन् । भीड नियन्त्रण गर्न प्रहरीले सात राउण्ड अश्रु ग्यास प्रहार गरेको छ । घटनास्थलमा जिल्लाबाट थप प्रहरी टोली खटिएका छन् ।

केटी जिस्क्याएको भन्दै लम्जुङबाट आएको जन्ती पक्षलाई बुधबार गोरखाको पालुङटार नगरपालिका–४ कुमाल गाउँका बेहुली पक्षले कुटपिट गर्दा ३४ वर्षीय बिष्णुबहादुर कुमालको मृत्यु भएको थियो । कुटपिटमा संलग्न भएको आशंकामा १२ जनालाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।