समाचार

वर्षेनी त्रियुगा नदीले यस क्षेत्रमा कटान गर्दै लगेपछि नियन्त्रण गर्न बाँध निर्माण शुरु

उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–१२ स्थित गाईघाट बसपार्क क्षेत्र र आर्यघाट क्षेत्रको त्रियुगा नदीदेखि वडा नम्बर १३ विषणपुरसम्मको झण्डै दुई किलोमिटर क्षेत्रमा त्रियुगा नदीको कटान रोक्न बृहत् बाँध निर्माण कार्य शुरु भएको छ ।

नेपाल सरकार जलउत्पन्न प्रकोप विभागको झण्डै रु दश करोड बजेटबाट यस क्षेत्रमा विभिन्न उपभोक्ता समिति गठन गरेर धमाधम बाँध निर्माण कार्य शुरु गरिएको वडा नम्बर १२ का वडाध्यक्ष जयविक्रम राईले बताउनुभयो ।अहिले पहिलो चरणमा गाईघाटस्थित त्रियुगा नदीको आर्यघाट क्षेत्रबाट पुरानो गाईघाटको बोटेटोलसम्मको २०० मिटर बाँध निर्माणको लागि उपभोक्ता समिति गठन गरेर बाँध निर्माण कार्य शुरु भएको अध्यक्ष राईको भनाइ छ ।

चौडाइ १९ मिटर र उचाइ तीन मिटरको उक्त बाँधमा पाँच मिटरको करिडोर सडकसहितको बाँध निर्माण कार्य शुरु गरिएको आर्यघाट बोटेटोल बाँध निर्माण उपभोक्ता समितिका सचिव लव ढकाल बताउनुहुन्छ । यस्तै बोटेटोलबाट तल्लो आर्यघाट हुँदै विषणपुरसम्मको तटबन्ध निर्माण गर्न अन्य उपभोक्ता समितिसमेत गठन गर्न लागिएको त्रियुगा नगरपालिकाले बताएको छ ।

दुई किलोमिटर बाँध निर्माण भएपछि गाईघाटको बसपार्कदेखि दुर्गाटोल, प्रतिभा टोल साधना टोल, बोटेटोल, बगरटोल, त्रिवेणी टोल र विषणपुर क्षेत्रका झण्डै तीन हजार जनता बसोबास गरेको क्षेत्र त्रियुगा नदीको कटानबाट सुरक्षित हुने भएको पनि त्रियुगा नगरपालिका गाईघाटले जनाएको छ । वर्षेनी त्रियुगा नदीले यस क्षेत्रमा कटान गर्दै लगेपछि दश वर्षभित्रमात्र झण्डै २०० बिघा जग्गा कटान गरिसकेको छ भने सयौँ घर परिवारसमेत विस्थापित भइसकेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *