समाचार

विश्वशान्तिको कामनासहित पारिवारिक सुख, शान्ति, पितृउद्वार लक्ष्यका साथ गुप्तेश्वर गुफामा आरती

पोखरा / ऐतिहासिक, धार्मिक एवं पर्यटकीय महत्व बोकेको पोखराको छोरेपाटनस्थित गुप्तेश्वर महादेव गुफामा आरती सेवा सञ्चालन गरिएको छ । विश्वशान्तिको कामनासहित पारिवारिक सुख, शान्ति, पितृउद्वारलगायतका विविध लक्ष्यका साथ आयोजना गरिएको आरती सेवा प्रत्येक हप्ताको सोमबार साँझ एक घण्टा सञ्चालन गरिने भएको हो । तीन गुरुद्वारा शुद्ध गाईको घ्यू, कपुर, ज्योतिलगायतका पूजाका सामग्रीको माध्यमबाट गरिने आरती विशेषगरी शिव, विष्णु भगवान् तथा दुर्गादेवी मन्त्र वाचनद्वारा समर्पण गरिने गुफा व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो ।
अक्षय तृतीयाको अवसर पारेर शुरु गरिएको आरतीको पोखरा–१७ का वडाध्यक्ष तीर्थ अधिकारीले शुभारम्भ गर्दै धार्मिक पर्यटन प्रवद्र्धनमा आरतीले थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । विसं २०५१ देखि सञ्चालनमा आएको गुप्तेश्वर गुफामा वार्षिक पाँच लाखको हाराहारीमा आन्तरिक र बाह्य पर्यटकले टिकट काटेर अवलोकन गर्ने गरेको कार्यालय प्रमुख नारायण पौडेलले जानकारी दिनुभयो ।उहाँका अनुसार टिकट बिक्रीबाट वार्षिक रु तीन करोडभन्दा बढी आम्दानी गर्दै आएको गुफाले आरती सञ्चालनसँगै धार्मिक पर्यटकको सङ्ख्यामा वृद्धि हुने विश्वास लिइएको छ ।नेपालको पशुपतिनाथ, भारतको काशीमा लामो समयदेखि निरन्तर आरती सेवा सञ्चालन भए पनि पछिल्लो समय भने जनकपुरधाम, देवघाट, पोखराको ताल बाराहीघाट, सदा शिव हरिहर मन्दिर हुँदै गुप्तेश्वर गुफामा शुरु गरिएको छ भने मुलुकभर विस्तार हुने क्रम जारी छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *