समाचार
कैलालीमा स्थिति तनावग्रस्त : दर्जनौँ सेल अश्रुग्यास प्रहार, ७ प्रहरी घाइते
कैलाली । कैलालीको लम्कीमा ट्रकको ठक्करबाट एक युवतीको ज्यान गएपछि आक्रोशित स्थानीय बासिन्दा र प्रहरीबीच झडप भएको छ ।राजमार्ग बन्द गरेर प्रदर्शनमा उत्रेका मृतकका आफन्त र प्रहरीबीच झडप हुँदा सात प्रहरी र एक शिक्षक घाइते भएका छन् । स्थिति निकै तनावग्रस्त भएपछि प्रहरीले दर्जनौ सेल अश्रुग्यास प्रहार गरेको छ । स्थानीयले प्रहरीमाथि ढुंगमामुडा प्रहार गरेर घाइते बनाएका छन् ।घाइतेको लालरत्न अस्पताल लम्कीमा उपचार भइरहेको छ ।लम्कीचुहा नगरपालिका ३ मा ना ७ ख ९२३३ नम्बरको ट्रकले ठक्कर दिँदा १९ वर्षकी सुनीता रावलको ज्यान गएको थियो ।

घटनापछि मृतकका आफन्त तथा स्थानीय बासिन्दाले प्रदर्शन थालेका हुन् ।उनीहरुले उचित क्षतिपूर्ती र दोषीलाई कारबाहीको माग राखेर पूर्वपश्चिम राजमार्गमा सवारीका साधन चल्न दिएका छैनन् ।राजमार्ग खुलाउन गएको प्रहरीमाथि प्रदर्शनकारीले ढुंगा प्रहार गरेर घाइते बनाएका कैलालीका एसपी आभूषण तिमिल्सेनाले जानकारी दिए ।अहिले पनि लम्कीबजार तनावग्रस्त छ ।मृतकको शव आफन्तले उठाउन दिएका छैनन् ।स्थिति अहिले पनि तनावपुर्ण नै रहेको छ ।


