समाचार
उदयपुरमा वन विनाशसँगै डढेलोले गाउँ पस्न थाले जंगली जनावर
उदयपुर / उदयपुरमा बढ्दो वन विनाशसँगै जंगली जनाबारको बासस्थान तथा आहार डढेलोले मासिँदै जान थालेपछि जंगली जीवजन्तुहरु गाउँ घरमा छिरेर आतंक मच्चाउन थालेका छन् ।
गएको एक महिनाभित्र जंगली जनाबरको बास स्थान तथा आहार डढेलोले मासिन थालेपछि बाँदर, भालु, बदेल, हात्ती लगायतका जनावरहरु गाउँ गाउँमा पसेर आतंक मचाउन थालेका हुन् ।
गत फागुन २८ गते कटारी नगरपालिका १ बस्ने ७७ वर्षिय वृद्ध नैन बहादुर पहाडी नेवारलाई घाँस काट्न जंगल गएको समयमा भालुले आक्रमणमा परी घाइते भएका थिए । घर नजिकैको जंगलमा वृद्ध नेवारलाई भालुले आक्रमण गरेको थियो । उनको अहिलेसम्म विराट नर्सिङ होम विराटनगरमा उपचार भैरहेको छ ।

गत चैत्र ९ गते चौदण्डीगढी नगरपालिका ५ सिवाईमा भालुको आक्रमणबाट स्थानीय २६ वर्षिय घुरन सदाय र अर्का २५ वर्षिय मनिस राई घाइते भएका थिए । भालुले सदायको हातमा टोकेका थिए भने राईको पाखुरा, घुडा, ढाँड, हात खुट्टा लगायतमा चिथोरिएको थियो । राईको विपी कोइराला विज्ञान प्रतिष्ठान धरानमा उपचार पश्चात घर फर्किसकेका छन् ।
जंगली जनावरले खाने आहार डढेलोले नष्ट भएपछि बाँदरहरु गाउँ पस्न थालेका छन् । केही दिनदेखि त्रियुगा नगरपालिका १५ खाँबु, डहर, कुभिण्डे आसपासका क्षेत्रका सर्वसाधरणको घर, खेतबारीमा प्रवेश गरी बाँदरले अन्नपात खानुको साथै महिला तथा बालबालिकालाई आक्रमण गर्न थालेका छन् ।
खेतबारीमा लगाइएको धान, कोदो, मकै, गहुँ, आलु लगायतका अन्नबाली बाँदरले खाइदिने र नष्ट बनाइदिने महिला तथा बालबालिकालाई चिथोर्न थालेको भन्दै स्थानीयहरुले बाँदरको आतंक नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय उदयपुरलाई अनुरोध गरेका छन ।
‘एक्लै हिड्न हुन्न झम्टिहाल्छ । बारीमा लगाएको खेती त नष्ट गर्यो, घरमा राखेको अन्न पनि लिएर जान्छ,’ वडा अध्यक्ष निरबहादुर आले मगरले नागरिक बहससँग भने । भान्छामा पकाएर राखेको भात समेत खाइदिने गरेकाले दिउँसै ढोका थुनेर बस्नु परेको उनले सुनाए । महिला बालबालिकालाई आक्रमण नै गर्न थालेपछि प्रशासनको ध्यानाकर्षणका लागि डेलिकेसन गएको वडा अध्यक्ष मगरले बताए ।
डिभिजन वन कार्यालय गाईघाट प्रमुख विष्णुप्रसाद आचार्यका अनुसार ६० भन्दा बढी सामुदायिक वन गरी करिव सात हजार हेक्टर वन क्षेत्रमा डढेलो लागेको थियो । जंगली जनावरको आहार नष्ट भएपछि स्वभाविक रुपमा जनावरहरु गाउँ गाउँ पसेको बताए । अमेरिकी अन्तरिक्ष नियोग ‘नासा’ले उदयपुरको चुरे तथा महाभारत क्षेत्रका ४ सय भन्दा बढी वन क्षेत्रमा डढेलो लागेको समेत स्पष्ट पारेका थिए । वनमा भएका जंगली जनावरको बास स्थान र खानेकुरा मासिएपछि बाँच्नको लागि भएपनि गाउँ घरको अन्नबाली, फलफुल र तरकारीबालीलाई आफ्नो आहार बनाउन थालेको बताए ।
‘बाँदर हेर्दा सानो मकै, गहुँ र तरकारी त खाने हो भन्ने लागेको थियो तर, यसले किसानलाई धेरै मार्कामा परेकोले अहिले यो समस्या देशव्यापी रुपमा रहेकोले छ ।’ उनले भने, ‘बाँदर गाउँ पस्नुको मुख्य कारण बास स्थान र खानेकुरा डढेलोले नष्ट भएपछि मात्रै बाँदर गाउँ पसेको हो, डढेलो नलाग्नु अगाडी खोई बाँदरको समस्य कसैले लिएर आएको थिएन ।’ बाँदरको पनि आफ्नो जिवन चक्र छ, जिवन चक्रमा दुष्ट मानसिकता राख्नेहरुले डढेलोले आहार नष्ट भएपछि बाँदरले पनि आफ्नो ज्यान बचाउँनको लागि गाउँ घर पस्न थालेको बताए ।
बाँदरले अन्नवाली, फलफुल र तरकारीलाई नष्ट गरिदिएवापत वनबाट कुनै पनि क्षतिपूर्ति राहत दिने व्यवस्था कानुनमा नरहेको उनले बताए । वन्य जन्तु क्षतिपूर्ति राहत निर्देशिका २०७३ ले १४ प्रकारका वन्यजन्तुले क्षति पुर्याए वापत् किसानले राहत पाउने व्यवस्था नीतिगत रुपमै राखिएको भएपनि बाँदरको विषयमा कुनै व्यवस्था नरहेको डिभिजन प्रमुख आचार्यले बताए ।
बाँदर नियन्त्रण रणनीति बारे सुझाबको लागि प्रदेश नं. १ का उद्योग, पर्यटन, वन, तथा वातावरण मन्त्रालयले यस जिल्लाको प्रभावित क्षेत्र तथा अन्य बाँदर नियन्त्रण सम्बन्धी सुझाब माग गरिएकोले यस कार्यालयले केही सुझाब पठाएको डिभिजन प्रमुख आचार्यले बताए । उनका अनुसार नीतिगत रुपमा स्थानीय, प्रदेश र केन्द्र सरकारले क्षतिपूर्ति सम्बन्धी कानून बनाए किसानको अन्नवाली, फलफुल र तरकारी नष्ट गरे क्षतिपूर्ति पाउने छ । तर, अहिले कुनै त्यस्तो कानून नरहेको बताए ।
बाँदर नियन्त्रण कार्ययोजना प्रदेश मन्त्रालयमा पेश

डिभिजन वन कार्यालय गाईघाटले प्रदेश नं. १ का उद्योग, पर्यटन, वन, तथा वातावरण मन्त्रालयमा बाँदर नियन्त्रण कार्ययोजना पेश गरेको छ । कार्ययोजनामा बाँदर नियन्त्रण देखि पड्का पडकाएर धपाउने दखि समातेर निकुञ्ज र आरक्षणमा छोडनेसम्मको योजना रहेको डिभिजन वन कार्यालय गाईघाटका सूचना अधिकारी जागेश्वर प्रसाद साहले बताए ।
सूचना अधिकारी साहका अनुसार त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिकामा बाँदरको बास स्थानलाई लक्षित गरेर बाँदरले मन पराउने विरुवा÷घाँस रोपण तथा सम्वद्र्धन कार्यक्रम गर्न मन्त्रालयलाई पत्रचार गरेको बताए । बाँदरले मन नपराउने खालका प्रजातिका विरुवा रोपणका लागि किसानहरुलाई प्रोत्सहान गर्ने, प्रभावित क्षेत्रमा समुदाय वन उपभोक्ता समूहले टोली बनाई बाँदर रेखदेख तथा धपाउने कार्य गर्ने, पडका पडकाई वा अन्य चीजले ठूलो आवाज आउने साउण्ड बजाउने, बाँदरलाई समाती आरक्ष तथा निकुञ्जभित्र छाडने कामको लागि प्रदेश मन्त्रालयमा बजेट सहित माग गरिएको बताए ।
काठ तस्कर, वन्यजन्तुको चोरी निकासी गर्ने, नयाँ घास पलाउने भन्दै गाई गोठालाले वनमा डढेलो लगाउने गरेको बताए । दुष्ट मनस्थितिका मानिसहरु चुरोट, विडीका पारखीहरुले चुरेट खाएर जताभावी जलेको चुरोट ठुटा फाल्ने गरेकोले जंगलमा डढेलोले जैविक विविधता नष्ट हुने, जंगली जीवजन्तु जलेर जानुको साथै जंगली जनावरको आहार समेत नष्ट भएको छ । जसले गर्दा जंगली जनावरहरु गाउँ घर तिर आहारको खोजीमा अन्नवाली, फलफुल तथा तरकारी बाली विगार गरेको बताए । उनका अनुसार वन्यजन्तुको संरक्षण जति आवश्यक छ त्यति नै आवश्यक तिनीहरुबाट हुने क्षति नियन्त्रण गर्न आवश्यक छ ।
