समाचार

सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइपछि विद्यार्थीकाे अेाइराे

पोखरा / अधिकांश सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर खस्कदै गएका बेला विद्यार्थी, शिक्षक र अभिभावकको सामुहिक प्रयासले यहाँको एक विद्यालयमा विद्यार्थी सङ्ख्या भने बढ्दै गएको छ ।चार वर्ष अघि ३५० विद्यार्थी रहेको पोखरा महानगरपालिका–३३ बाघमारास्थित सरस्वती टिका माध्यमिक विद्यालयमा अहिले बढेर एक हजार १३२ पुगेका छन् । “समयको माग अनुरुप नेपाली तथा अङ्ग्रेजी माध्यममा पढाइ शुरु गरेपछि विद्यार्थी सङ्ख्या बढेको छ, यसले शिक्षाको गुणस्तर पनि बढेको छ”, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषिराज आचार्यले बताउनुभयो ।

विद्यालयमा प्राविधिक शिक्षाका लागि शिक्षा मन्त्रालयअन्तर्गतको कक्षा ९–१२ मा सिभिल इञ्जिनीयरिङ र प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद (सिटिइभिटी) मा एसइईपछिको तीन वर्षे सिभिल इञ्जिनीयरिङ पढाउन प्रक्रिया अन्तिम चरणमा पुगेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कार्यक्रम स्वीकृत भएसँगै आउने शैक्षिक सत्रदेखि नै कक्षा चलाउने तयारी गरेका छौँ ।”नेपाली माध्यममा पढाइ हुँदा विसं २०७१ मा ३५० विद्यार्थी पढ्थे । त्यसले विद्यार्थीको आकर्षण बढ्न नसकेपछि अङ्ग्रेजीमासमेत पढाउन थालिएको हो । त्यसपछि वर्षेनी विद्यार्थी सङ्ख्या बढ्दै २०७२ मा ५२१, २०७३ मा ६९१, २०७४ मा ९४० हुँदै २०७५ मा एक हजार १३२ विद्यार्थी पुगेको हो । अघिल्लो वर्ष एसइई परीक्षामा १२ विद्यार्थीले ‘ए’ प्लस, २३ ले ‘ए’, २४ले ‘बी प्लस’ र ‘बी’ ल्याउने ११ थिए । उक्त परीक्षामा विद्यार्थीले अधिकतम तीन दशमलव नौ जिपिएसम्म ल्याउन सफल भएका थिए । यस वर्ष एसइईमा ७९ विद्यार्थी सहभागी हुने विद्यालयका सहायक प्रधानाध्यापक ईश्वरीप्रसाद सापकोटाले बताउनुभयो ।

एसइईमा विद्यार्थीले राम्रो नतिजा ल्याउन् भन्ने अभिप्रायले गत मङ्सिरदेखि विद्यलायमा आवासीय पठनपाठन थालिएको छ । शिक्षक अभिभावक सङ्घका अध्यक्ष गणेशप्रसाद ढकाल अङ्ग्रेजी माध्यममा पढाइपछि विद्यालयप्रति विद्यार्थी तथा अभिभावकको विश्वास बढ्दै गएको बताउनुहुन्छ ।गुणस्तरीय शिक्षाका लागि त्यही किसिमका पूर्वाधार विकासलाई पनि आफूँहरूले प्राथमिकतामा राखेको बताउँदै उहाँले प्रविधिमा आधारित शैक्षिक कार्यक्रमको विकास गर्न सम्बन्धित निकायमा पहल भैइरहेको जानकारी दिनुभयो ।“प्रविधिमा आधारित शिक्षाका लागि पोखरा महानगरपालिका र सूचना विभागसँग सहयोगका लागि प्रस्ताव पेश गरिएको छ ”, उहाँले भन्नुभयो, “कक्षा कोठालाई पूर्ण प्रविधिमैत्री बनाउँदै पठनपाठनमा चक, डस्टर तथा कागजकोे प्रयोग हटाउने दीर्घकालीन सोच छ ।”

विद्यालयका साथै आफ्ना बालबालिकाको हाजिरी, गृहकार्य लगायतका विषयमा अभिभावकले दैनिक थाहा पाउने गरी अघिल्लो वर्षबाट विद्यालयले मोबाइल एप पनि सञ्चालनमा ल्याएको छ । सरस्टीका नामक उक्त एप सञ्चालनसँगै विदेशमा सेवा, पेशा व्यवसायका क्रममा पुगेका अभिभावकले आफ्ना केटाकेटी विद्यालय आए नआएको, गृहकार्य गरे नगरेकोबारे जानकारी लिने गरेका छन् ।पोखरा महानगरपालिका–३३ भित्रका विद्यालयमा शैक्षिक गुणस्तरीयता अभिवृद्धिको विषयलाई वडा कार्यालयले उच्च प्राथमिकतामा राखेको वडा शिक्षा समितिका अध्यक्षसमेत रहेका वडाध्यक्ष शिवप्रसाद आचार्यले बताउनुभयो । “गुणस्तरीयतासँगै विद्यार्थीमा व्यवहारिकता, नैतिकता जस्ता शिक्षाका महत्वपूर्ण पक्षमा सबैको चासो जानु आवश्यक छ ”, उहाँले भन्नुभयो । वडामा भूगोल सुहाउँदो प्राविधिक शिक्षा कसरी अघि बढाउन सकिन्छ भन्ने कुरामा आफू लागेको उहाँको भनाइ थियो ।

वडामा अघिल्लो वर्ष विद्यालयबाहिर रहेका सबैलाई विद्यालयमा ल्याउने गरी थालिएको अभियान सफल भएको वडा सदस्य दीपक लामिछानेले बताउनुभयो । सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तरीयता अभिवृद्धिका लागि महानगरपालिकाबाट पनि शिक्षा नीति बन्दै गरेको जानकारी दिँदै उहाँले शिक्षक, विद्यार्थी तथा अभिभावकको सामुहिक प्रयासमा गुणस्तरियता कायम गर्न सकिने धारणा राख्नुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *