समाचार
विमानस्थल कालोपत्रेको काम शुरु हुन सकेन
बैतडी/ यही चैतभित्र बैतडीको पाटन विमानस्थलको कालोपत्रे गरी सक्ने भनिए पनि अझै कार्य शुरु भएको छैन् । गत असारमा सक्ने लक्ष्यसहित निर्माण कार्य शुरु गरिएको विमानस्थल कालोपत्रे गर्ने कार्य थालनी नहुँदा स्थानीय बासिन्दा निराश बनेका छन् ।ग्याल्वा च्यामलिङ्गा जगदम्बा जेभीले काम गरिरहेको विमानस्थलमा माटो काट्ने, सम्याउनेलगायतका काम सकिएको नागरिक उडड्यन प्राधिकरणका इञ्जिनीयर कविता भट्टले बताउनुभयो । विमानस्थललाई स्तरोन्नति गर्ने कार्यअन्तर्गत अब कालोपत्रेको काम मात्रै बाँकी छ । उहाँले भन्नुभयो, “विमानस्थल निर्माण शुरु भएपछि इन्धनको अभाव, बेलाबेलामा हुने बन्दा हड्ताल र निर्माण कम्पनीको पनि केही लापरवाहीका कारण समयमै सम्पन्न हुन नसकेको हो ।”

विसं २०७३ को चैतमा सम्झौता भएर विमानस्थल पुनःनिर्माणको काम शुरु भएको थियो । शुरुको सम्झौताअनुसार असारमा काम सक्नुपर्ने भएपनि सम्झौता सकिएको आठ महीना हुँदा पनि विमानस्थल कालोपत्रे हुन सकेको छैन् ।पाटनमा विमानस्थलमा ५९० मिटर लम्बाइ र २० मिटर चौडाइको धावनमार्ग कालोपत्रे गरिनेछ भने ७० मिटर लम्बाइ र ३० मिटर चौडाइको एप्रोन कालोपत्रे गरिनेछ । मूल्य अभिवृद्धि करबाहेक रु ११ करोड २९ लाखको लागतमा काम भइरहेको छ ।पाटनमा २०३२ सालमा विमानस्थल निर्माणको काम शुरु भएर विसं २०३५ देखि हवाई सेवा शुरु भएको थियो । पछि २०५२ सालदेखि विमानस्थल बन्द भएको थियो । पहाडी जिल्लामा सडक सञ्जाल पुगेको र यात्रु कम भएको भन्दै विमानस्थल बन्द गरिएको थियो ।
विसं २०५८ मा तत्कालीन विद्रोही माओवादीले विमानस्थलको टावरमा आगो लगाएर ध्वस्त बनाएको थियो । पाटन विमानस्थल सञ्चालन भएमा दार्चुलाको अपि हिमाल, बझाङको साइपाल हिमाल, बैतडी र डडेल्धुराका धार्मिक पर्यटकीय क्षेत्रमा पर्यटक भित्र्याउन सजिलो हुने पाटनका स्थानीय लोकेन्द्रप्रसाद पन्तले बताउनुभयो ।

