समाचार
सामुदायिक विद्यालयप्रति आकर्षण बढ्दो
रामपुर, ५ माघ / पाल्पाका निजी विद्यालयभन्दा केही सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर राम्रो भएको छ । सामुदायिक विद्यालयमा पढाइको स्तर कम भएको भन्ने जनगुनासो बढिरहँदा पाल्पाका केही विद्यालयमा भने निजी विद्यालयमा भन्दा शिक्षाको गुणस्तर राम्रो भएको अभिभावकहरुले बताउन थालेका छन् ।

रामपुर बेझाडस्थित रामतुलसी माध्यमिक विद्यालय गुणस्तरीय पढाई हुन थालेपछि अहिले सो विद्यालय अभिभावक तथा विद्यार्थीको रोजाइ बनेको छ । प्रशस्त रुपमा कक्षाकोठा, विद्यालय हाताभित्रै खाजाघर, शौचालय, पानीको व्यवस्था, खेलमैदान, विद्यालय प्रवेश गर्ने वित्तिकै अनुशासित वातावरणमा पढाइ र अतिरिक्त क्रियाकलापका कारण आफूहरु त्यहाँ पढ्न लागेको विद्यार्थी निशान सिग्देलले बताउनुभयो । उहाँले भन्नुभयो, “मायालु वातावरणमा शिक्षक पढाउन थालेपछि नै यो स्कुल मन पर्छ ।”

