समाचार

आमाले दोस्रो बिहे गरेपछि नाबालक छोरा बाँधिए दाम्लोमा,गाउँको इज्जत जाने डरले स्थानीयद्वारा ढाकछोप

फिदिम : पाँचथरको मिक्लाजुङ–५ पाङ्तुवाकी शिला चेम्जोङले दोस्रो बिहे गरेपछि उनका नाबालक छोरा दाम्लोले बाँधेर राखिएका छन्। हजुरबुवा भुवनसिंह सम्बाहाम्फे र हजुरआमाले पाँच वर्षीय मित्रहाङलाई दुई वर्षदेखि ओखलीमा बाँधेर राखेका हुन्। उनका बुवा बुवा आशिकराम वैदेशिक रोजगारीमा छन्।

उनको दायाँ खुट्टा दाम्लोले बाँधिएको छ। उनले दाम्लो खोल्ने प्रयत्न गरिरहन्छन्। नसकेपछि उनी रुँदै चिसो भुइँमा लडिबुडी गर्छन्। बच्चाको मानसिक सन्तुलन ठीक नभएकाले बाँधेर राख्नुपरेको हजुरबुवा र हजुरआमा बताउँछन्।

‘आमाले छाडेपछि बच्चा रेखदेख गर्ने कोही छैन’, हजुरआमाले भनिन्, ‘बच्चालाई बाँधेर हामी बूढाबूढी काममा निस्किन्छौं।’ रातको समयमा पनि बाँधेरै राख्ने गरिएको उनले सुनाइन्। दाम्लो खोले बच्चा जथाभावी कुद्ने र जे पायो त्यही खाने उनको भनाइ छ।

बच्चाको आङ ढाक्ने कपडासमेत छैन। उनी बाँधेकै ठाउँमा फोहोर गर्छन्। उनलाई चिसो भातको डल्ला खान दिने गरिएको छ। बायाँ हातले टिपेर खपाखप खान्छन्। ‘थालमा दिएको भात बच्चाले खाँदैन’,

हजुरआमाले प्लास्टिकमा भातको डल्ला राखिदिँदै भनिन्, ‘भुइँमा दिएको मात्र खान्छ।’ मित्रहाङ बोल्न सक्दैनन्। उनी चिच्याउँछन् अनि रुन्छन्। कसैले खानेकुरा दिए खपाखप खान्छन्।

अढाई वर्षको हुँदा आगोमा परेपछि नातिको मानसिक सन्तुलन गुमेको हजुरआमाको दाबी छ। ‘नातिको उपचार गर्न सकेनौं’, उनले भनिन्, ‘आमाले छाडेपछि हेरचाह गर्ने पनि कोही भएन।’

धामीझाँक्रीलाई झारफुक गर्न लगाउँदा पनि अवस्था नसुध्रिएको उनले सुनाइन्। ‘अब त माया नै मारिसक्यौं’, उनले भनिन्। उपचार गर्नुको साटो धार्मिक शक्तिपीठ र गुरुकहाँ पु¥याइएको परिवारको भनाइ छ।

यो घटना सार्वजनिक भए गाउँको इज्जत जाने भन्दै स्थानीय अग्रजले ढाकछोप गर्न खोजेका थिए। यसबारे आफूले थाहा नपाएको गाउँपालिका अध्यक्ष अमर माखिमले बताए। ‘यस्तो कुरा मलाई थाहा थिएन’, अध्यक्ष माखिमले भने, ‘अहिले बालकलाई बाँधेर राखेको देखियो। सबै मिलेर उनको उद्धार गर्नुपर्छ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *