समाचार

काष्ठमण्डप पुनःनिर्माणका लागि १७ हजार क्यूफिट काठ उपलब्ध गराउने

काठमाडौँ,१६ कात्तिक ।ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको काष्ठमण्डप पुनःनिर्माणका लागि दि टिम्बर कर्पोरेशन अफ नेपाल लिमिटेडले १७ हजार क्यूफिट काठ उपलब्ध गराउने भएको छ । विसं २०७२ वैशाखमा गएको विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको पुनःनिर्माणका लागि सोही मात्रामा कर्पोरेशनले काठ उपलब्ध गराउन लागेको हो ।

काष्ठमण्डप पुनःनिर्माणका लागि काठ उपलब्ध गराउने बारेमा काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्य र कर्पोरेशनका महाप्रबन्धक राजु लौडारीबीच समझदारीपत्रमा हस्ताक्षरसमेत भइसकेको छ । काठैकाठबाट बन्ने काष्ठमण्डप पुनःनिर्माणका लागि लामो र ठूलो काठ आवश्यक पर्दछ । कर्पोरेशनका महाप्रबन्धक लौडारी बजारमा सामान्यतया १० फिट लामो काठ पाइने भएपनि काष्ठमण्डप पुनःनिर्माणका लागि ३८ फिट लामो काठ आवश्यक पर्ने बताउनुहुन्छ ।

“काष्ठमण्डप पुनःनिर्माणका लागि लामो र ठूलो काठ आवश्यक पर्ने भएकाले सोहीअनुसार कटान र ढुवानी गर्नका लागि समझदारी गरेका हौँ”, महाप्रबन्धक लौडारीले भन्नुभयो । काष्ठमण्डप पुनःनिर्माणका लागि विशेषखालको काठ विशेष ढङ्गले कटान गर्नुपर्ने उहाँको भनाइ थियो ।

काष्ठमण्डप पुनःनिर्माण दुई वर्षमा सक्ने गरी कार्ययोजना बनाएर अगाडि बढिसकिएको पुनःनिर्माण समितिका अध्यक्ष शाक्यले बताउनुभयो । काठ दाउरा सङ्कलन, चिरान, उत्पादन तथा आपूर्ति, दाहसंस्कार र धार्मिक प्रयोजनका लागि दाउरा आपूर्तिमा महत्वपूर्ण भूमिका खेलेको कर्पोरेशनले भूकम्पबाट भत्केका घर पुनःनिर्माणमा समेत उपलब्ध गराएको छ ।रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *