समाचार

नेपाल विद्यार्थी सङ्घको १२औँ महाधिवेशन अनिश्चित बन्दै

काठमाडौँ । नेपाली काङ्ग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको १२औँ महाधिवेशन अनिश्चित बन्दै गएको छ । पार्टीको नेविसङ्घ हेर्ने समितिले विधान र नियमावली पारित नगर्दा महाधिवेशन अनिश्चित बन्दै गएको हो ।

अघिल्लो महिना सम्पन्न नेविसङ्घको केन्द्रीय समितिको बैठकले ११औँ महाधिवेशनमा लगाइएको ३२ वर्षे उमेरहद हटाउने प्रस्तावसहित विधान र नियमावली पार्टीलाई बुझाएको थियो ।

उक्त सङ्घको वर्तमान कार्यसमितिको म्याद भदौ २ गते सकिएकाले पार्टीले तीन महीनाभित्र निर्वाचन सम्पन्न गर्न निर्देशन दिएबमोजिम आगामी मङ्सिर २ गते म्याद सकिँदैछ ।

पार्टीबाट विधान र नियमावली अनुमोदन भएपछि असोज ७ गते देशभरका माध्यामिक विद्यालय र क्याम्पसमा अधिवेशन, असोज १२ मा सबै स्थानीय तहमा अधिवेशन, असोज १५ मा क्षेत्र अधिवेशन, असोज २१ मा ७७ वटै जिल्लाको अधिवेशन, असोज २३ मा उपत्यकाभित्रका क्याम्पस अधिवेशन, कात्तिक १० र ११ मा सातै प्रदेशको अधिवेशन र कात्तिक १६ देखि १८ सम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने समयतालिका पार्टीलाई बुझाएको थियो ।

नेविसङ्घका उपाध्यक्ष रामप्रसाद अधिकारी निर्देशन समितिले दिएको निर्देशनअनुसार नै समयतालिका, विधान र नियमावली निर्देशन समितिलाई बुझाउँदा पनि निर्वाचन टार्ने खेल भइरहेको बताउन्छन।

“संस्थापन पक्ष ३२ वर्ष उमेर हदको कारण देखाएर महाधिवेशन टार्ने पक्षमा देखिन्छ,” उनी बताउन्छन। पछिल्लो समय अन्य भातृ सङ्गठन आफ्नो समूहबाट पराजित हुँदै गएपछि संस्थापन पक्ष निर्वाचन गर्ने पक्षमा नरहेको उनको भनाइ रहेको छ ।

प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा लोकतान्त्रिक फोरमबाट काङ्ग्रेसमा प्रवेश गरेका विजयकुमार गच्छदार समूहसँगै नेविसङ्घमा एक महामन्त्रीसहित १५ केन्द्रीय सदस्य विस्तार गरेपछि चर्काचर्की भएको छ ।

नेविसङ्घका कोषाध्यक्ष शिव रिमाल निर्देशन समितिले गरेको आलटालका कारण तोकिएकै समयमा निर्वाचन नहुने आशङ्का बढेको बताउन्छन । “निर्वाचनको सुनिश्चितताका लागि निर्देशन समितिले विधान र नियमावली तत्काल टुङ्ग्याउनुपर्छ”, उनले जनाए ।

विद्यार्थी नेता मोतीलाल भण्डारी महाधिवेशनको मुखमा अध्यक्षले कार्यसमिति विस्तार गर्दा नेविसङ्घको महाधिवेशन नहुने हो कि भन्ने आशङ्का पैदा भएको जानकारी गराउन्छन।

विद्यार्थी नेता ग्यालवाङ तामाङ तोकिएको समयमा नेविसङ्घको निर्वाचन हुन नसक्दा काङ्ग्रेस कमजोर हुने बताउन्छन। “नेविसङ्घ जति बलियो हुन्छ, त्यति नै काङ्ग्रेस बलियो हुन्छ”, उनले बताए । नेविसङ्घका सहमहामन्त्री एवं प्रवक्ता प्रेमराज जोशी केन्द्रीय समितिको बैठकले विधान संशोधन नगरेका कारण नेविसङ्घको १२औँ महाधिवेशन अन्योलमा परेको उनले जनाए ।

“नेविसङ्घको महाधिवेशनका लागि पार्टी सभापतिसहित केन्द्रीय समितिको ध्यानाकर्षण गराउनेछौँ”, उनले सुनाए “महाधिवेशनको विकल्प महाधिवेशन मात्र भएकाले यथाशक्य छिटो महाधिवेशन सम्पन्न गराउने पक्षमा दवाव सिर्जना गर्छौ । ”निर्देशन समितिका सदस्य एवं काङ्ग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशी अब बस्ने केन्द्रीय समिति बैठकमा नेविसङ्घको विधान र नियमावलीबारे छलफल हुने बताउन्छन ।रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *