समाचार

ईश्वर पोखरेलसहित दर्जन नेताले किन गरेनन् पार्टी एकतामा हस्ताक्षर (नामसहित)

काठमाडौं, ८ असार । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकीकरणको निर्णयमा तत्कालीन एमालेका महासचिव ईश्वर पोखरेल र केही प्रभावशाली नेतासहित एक दर्जन नेताले अझै हस्ताक्षर गरेका छैनन् । पार्टी एकता भएको एक महिना बितिसक्दा पनि पोखरेलसहित केही प्रभावशाली नेताले असन्तुष्टि जनाउँदै हस्ताक्षर नगरेका हुन् ।

केही सदस्यको हस्ताक्षर भने विदेश तथा काठमाडौंबाहिर रहेका कारण छुटेको छ । एकताजस्तो ऐतिहासिक निर्णयमा हस्ताक्षर छुटाएको भन्दै पोखरेलसहितका नेताहरूलाई प्रक्रिया पूरा गर्न सुझाउँदै पार्टी केन्द्रीय कार्यालयले ताकेता गरिरहेको छ ।

तर, तत्कालीन एमाले केन्द्रीय कार्यालयसचिव कृष्णगोपाल श्रेष्ठले भने लगभग सबै केन्द्रीय सदस्यले हस्ताक्षर गरिसकेको दाबी गरे । ‘हस्ताक्षर गर्नुपर्ने विषयमा सबैलाई खबर भइसकेको छ,’ श्रेष्ठले भने, ‘खासै छुटेको छैन, लगभग सबैको हस्ताक्षर छ ।’

यी हुन् एकताको निर्णयमा हस्ताक्षर नगर्ने नेता

तत्कालीन एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, महासचिव ईश्वर पोखरेल, तत्कालीन एमाले केन्द्रीय अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहरा, तत्कालीन माओवादी केन्द्रको अनुशासन आयोगका अध्यक्ष अमिक शेरचनले एकताको निर्णय पुस्तिकामा हस्ताक्षर गरेका छैनन् ।

त्यस्तै, विदेशमा रहेका कारण तत्कालीन एमाले केन्द्रीय सदस्यहरू चूडामणि जंगली र रचना खड्का तथा उपत्यकाबाहिर रहेका कारण भैरव श्रेष्ठको पनि हस्ताक्षर छुटेको छ । यीबाहेक अरू केही केन्द्रीय सदस्यले पनि एकताको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न छुटाएको स्रोतले जनायो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *