जनताको अपेक्षाअनुसार काम गर्न प्रदेश सांसदलाई प्रधानमन्त्रीको आग्रह

+
-

जेठ २६, २०७५ काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको अपेक्षा पूरा हुने गरेर काम गर्न प्रदेश सांसदहरूलाई आग्रह गरेका छन्। ठूलो परिवर्तनपछि अत्यन्तै महत्वपूर्ण अवस्थामा अहिलेका जनप्रतिनिधिहरूको भूमिका सिर्जना भएकोले सोहीबमोजिम काम गर्न उनले आग्रह गरे। प्रदेश एकको संसद बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले जनपक्षीय प्रणाली बनाएर काम गर्न पनि आग्रह गरे। ‘पहिलोको जस्तो अनुपयुक्त प्रणाली होइन, जनपक्षीय प्रणाली बनाएर काम गर्नुपर्छ,’ उनले भने। उनले प्रदेश एकको प्राकृतिक अवस्था असाधारण भएकोले आफ्नो प्रदेशको सम्पत्तिको उचित प्रयोग गरेर देखाउन पनि उनले आग्रह गरे। ‘सगरमाथासहितका हिमालहरूको प्रदेश हो यो,’ उनले भने, ‘यो प्रदेशमा भएका सम्पत्तिहरूको प्रयोग प्रदेशको विकास र उत्थानका लागि गर्नुपर्छ।’ प्रधानमन्त्री ओली भ्रष्टाचारका विषयमा शून्य सहनशीलता अपनाउन पनि आग्रह गरेका छन्। उनले आफूले भ्रष्टाचार नगर्ने र अरूलाई पनि नछोड्ने कुरा प्रदेश १ मा पुगेर पनि दोहोर्‍याएका छन्। ‘हामीले शासन गर्नका लागि नभई सेवा, सुशासन र विकासका लागि काम गर्नुपर्छ,’ उनले भने, ‘यो देशका सबै नागरिकलाई समृद्धितर्फको यात्रामा डोर्‍याउने जिम्मेवारी हामी जनप्रतिनिधिको काँधमा छ।’