अर्को युद्धको कल्पना नगर्न अमेरिका र इजरायललाई इरानका सर्वोच्च नेताको चेतावनी

अ+
अ
अ-

इरानका सर्वोच्च नेता मोजतबा खामेनीले शनिबार अमेरिका र इजरायललाई फेरि युद्धमा नफर्कने चेतावनी दिनुभएको छ ।

इरानको वर्तमान् प्रशासनको आलोचक रहेका ती मुलुकहरूले सम्भावित आक्रमणको धम्की दिएपछि सर्वोच्च नेता खामेनीको वेबसाइटमा प्रकाशित लिखित वक्तव्यमा यो कुरा उल्लेख छ ।

“यदि शत्रुहरूले फेरि सैन्य वा आतङ्कवादी आक्रमण गरे भने, त्यसलाई रोक्ने समय र अवस्था इरानका सशस्त्र बल र इरानी जनताले निर्धारण गर्नेछन्,” खामेनीले दिएको वक्तव्यमा भनिएको छ ।

यो टिप्पणी खामेनी र उच्च सैन्य कमाण्डरहरूबीचको बैठकपछि भएको बताइएको छ । बैठकमा सशस्त्र बलका प्रमुख अली अब्दोल्लाही, सेना प्रमुख अमिर हातमी र क्रान्तिकारी गार्डका कमाण्डर अहमद वाहिदी सहभागी थिए ।

यो उनीहरूबीचको पहिलो (सार्वजनिक जानकारीमा आएको) पहिलो बैठक हो । सर्वोच्च नेता बनेपछि खामेनी सार्वजनिक रूपमा देखिनुभएको छैन ।
उहाँका बुबा अयातुल्ला अली खामेनीलाई मध्यपूर्वी युद्धको सुरुवातमा फेब्रुअरीमा अमेरिका–इजरायली आक्रमणमा मारिएको थियो ।

वक्तव्यअनुसार खामेनीले कमाण्डरहरूलाई ‘कुनै पनि स्तर वा प्रकारको धम्कीलाई तत्काल, प्रभावकारी र भौगोलिक रूपमा असीमित प्रतिक्रिया दिनुपर्छ’ भनेर आदेश दिनुभएको छ । उहाँले अमेरिकी र यहुदी शत्रुका सबै प्रकारका मूर्त र अमूर्त सम्पत्तिहरूलाई लक्ष्य सूचीमा अद्यावधिक गर्न पनि आदेश दिनुभयो ।

सर्वोच्च नेताको यो वक्तव्य आउँदा युद्ध पुनः सुरु हुन नदिन नयाँ कूटनीतिक प्रयासहरू भइरहेका छन् । युद्ध फेब्रुअरी २८ मा अमेरिका–इजरायली आक्रमणबाट सुरु भएको थियो, जसको जवाफमा इरानले क्षेत्रका देशहरूमा आक्रमण गरेको थियो । शुक्रबार कतारको प्रतिनिधिमण्डल तेहरान आएर इरानी अधिकारीहरूसँग वार्ता गरेको छ । इरानले अमेरिकी उपराष्ट्रपति जेडी भान्सको पत्र पाएको बताइएको छ, तर इरानी मिडिया अनुसार तेहरानले अहिलेसम्म जवाफ दिएको छैन ।