संयुक्त राष्ट्रसङ्घको सोमालियाका लागि रहँदै आएको राजनीतिक अभियान दुई वर्षे सङ्क्रमणकालपछि शनिबार समाप्त भएको छ । यसले पूर्वी अफ्रिकी राष्ट्रमा तीन दशकभन्दा बढी समयदेखि चलेको संयुक्त राष्ट्रसङ्घको शान्ति निर्माण कार्यको अध्याय बन्द गरेको छ ।
युएनसोमलाई संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्ले सन् २०१३ मा स्थापना गरेको थियो। यसले सोमाली अधिकारीहरूलाई दुई दशकभन्दा बढीको द्वन्द्वपछि लोकतन्त्र र कानूनको शासनमा सङ्क्रमणमा सहयोग गर्ने उद्देश्य राखेको थियो ।
यो सन् १९९५ मा संयुक्त राष्ट्रसङ्घ राजनीतिक कार्यालय सोमालिया (युएनपिएस) को रूपमा सुरु भएको थियो । सन् २०२४ मेमा सोमालियाका राष्ट्रपति हसन शेख मोहमूदले मिसनको म्याद सकिनुअघि नै अक्टोबरमा समाप्त गर्न अनुरोध गर्नुभएको थियो ।
उहाँले पछि दुई वर्षे सङ्क्रमण अवधिको प्रस्ताव गर्नुभएको थियो । सङ्क्रमण अवधिमा युएनसोमलाई संयुक्त राष्ट्रसङ्घ सङ्क्रमण सहायता अभियान सोमालिया (युएनटिएमआइएस) नाम दिइएको थियो।
“आज संयुक्त राष्ट्रसङ्घ र सोमालियाबीचको साझेदारीको अन्त्य होइन, बरु एउटा अध्यायको समाप्ति र अर्कोको सुरुवात हो,” युएनटिएमआइएसका अस्थायी प्रमुख तथा संयुक्त राष्ट्रसङ्घका महासचिवका सोमालियाका लागि उपविशेष प्रतिनिधि रेज्डन जेनेङ्गाले वक्तव्यमा भन्नुभएको छ।
“ठूला चुनौतीहरू बाँकी छन्, तर युएनटिएमआइएसको समाप्ति सोमालियाले अन्तर्राष्ट्रिय सहयोगको प्रारम्भिक वर्षहरूदेखि गरेको उल्लेखनीय प्रगतिको परिणाम हो,” उहाँले थप्नुभयो । मिसनका जिम्मेवारीहरू सोमाली संस्थाहरू वा संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रका टोलीलाई हस्तान्तरण गरिएको छ । योे अन्त्य अल–कायदासँग सम्बन्धित अल–शबाबले अझै केन्द्रीय सोमालियाको ठूलो भाग नियन्त्रणमा राखेको अवस्थामा आएको हो ।
दुई दशकदेखि सोमाली सरकारसँग लडिरहेको यस समूहविरुद्ध ठूलो अन्तर्राष्ट्रिय सैन्य अभियान चलाइए पनि स्थिति नियन्त्रणमा आएको छैन । अल–शबाबविरुद्धको लडाइँ अन्तर्राष्ट्रिय सहयोग कटौतीका कारण थप सङ्कटमा परेको अवस्थामा यो घोषणा भएको छ ।
विशेष गरी अमेरिकाले संयुक्त राष्ट्रको मुख्य रसद मिसनको सबै सहयोग रोकेपछि सैन्य अभियानको भविष्यमाथि शङ्का बढेको छ । सोमालियामा अर्को मे महिना संसदीय र राष्ट्रपतीय चुनाव हुनेछ । निरन्तर असुरक्षा र विपक्षी विवादले यो प्रक्रियालाई चुनौती दिइरहेको छ ।


