काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण शनिबार काभे्रपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ खहरेमा सात घर–गोठमा क्षति पुर्याएपछि पीडित परिवारलाई छुट्टै घरमा व्यवस्थापन गरिएको छ ।
घरमा खाद्यान्नलगायत सम्पूर्ण सामग्रीमा क्षति पुगेपछि उनीहरूलाई गाउँपालिका कार्यालयले नजिकै एउटा घरमा व्यवस्थापन गरेको हो । शनिबार बिहान खहरे खोलामा आएको लेदोसहितको बाढीले उक्त स्थानका सात घर र तीन जस्तापाताको टहरोमा क्षति पुगेको थियो ।
खाद्यान्न, लत्ताकपडासहित अत्यावश्यक सामग्री व्यवस्थापन गरी सात परिवारको ३२ जनालाई उक्त घरमा राखिएको गाउँपालिका अध्यक्षका नीजि सचिव भगवान आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीयको खाली घरमा पीडित परिवारलाई राखिएको हो ।
बाढीले घर–गोठमा क्षति पुर्याउँदा मानवीय तथा चौपाया भने क्षति पुगेको छैन । आचार्यका अनुसार बाढीले स्थानीय शेरबहादुर तामाङको ढुङ्गा माटोले बनेको जस्ताको छानो भएको १ तले घर पूर्णरूपमा पुरिएको छ । शेरबहादुरको घर नजिकको हर्कबहादुर तामाङको ढुङ्गा माटोले बनेको जस्ताको छानो भएको तीन तले घरमा लेदो माटोसहितको पानी पस्दा जस्तापाता र काठले बनेको गोठ पूर्ण रूपमा क्षति पुगेको छ ।
बाढीले खहरेखोला बस्ने जगत तामाङको जस्तापाताको कटेरो र निर्माणाधीन दुई कोठे घर भत्काएको छ भने पोतेबहादुर तामाङको ढुङ्गा माटोले बनेको जस्तापाताको छानो भएको तीन तले र एक तले गरी दुई वटा घरमा पूर्णरूपमा क्षति पुर्याएको छ । यस्तै स्थानीय पुष्पा तामाङको जस्ताको टहरो र निर्माणधीन दुई कोठे घर, सुमन तामाङको जस्ताको टहरो र सेते तामाङको निर्माणाधीन दुई कोठे घरसमेत भत्किएको जनाइएको छ ।


