काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का नेता एवं रक्षामन्त्री ईश्वर पोखरेलले प्रत्यक्ष कार्यकारीको विषय अहिलेको मुद्दा नभएको टिप्पणी गरेका छन्। रक्षा मन्त्रालयमा थाहाखबरसँग विशेष कुराकानी गर्दै नेता पोखरेलले प्रत्यक्ष कार्यकारीको मुद्दा हाललाई इतिहास भइसकेको बताए। नेकपाका अध्यक्षमध्येका एक पुष्पकमल दाहाल प्रचण्डले मुलुक फेरि प्रत्यक्ष निर्वाचित राष्ट्रपतितर्फ जाने उद्घोष गरिरहँदा नेता पोखरेलले भने त्यो बौद्धिक छलफलको विषय मात्र बन्ने बताएका छन्। उनले भने, ‘प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा संविधान संशोधन गरेर जाने भन्नेमा नेपाल कम्युनिस्ट पार्टीमा छलफलको विषय बनिसकेको छैन।’ रक्षामन्त्री पोखरेल नेकपाका केन्द्रीय सचिवालय सदस्यसमेत हुन्। उनले तत्काल यस विषयमा पार्टीभित्र छलफल हुनेमा पनि आशंका जनाए। ‘प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको विषयमा अध्यक्ष प्रचण्डले बोलेको विषय मैले थाहा पाएको छैन। त्यो छलफलको विषय पनि बनेको छैन। त्यो विषय हामीबीच छलफल भएको छैन। यो छलफल हुने विषय जस्तो पनि लाग्दैन’, नेता पोखरलेले भने, ‘हो भने पनि बेलामा अलिकति छलफल हुन सक्छ।’ तत्कालीन एमालेका महासचिवसमेत रहेका पोखरेलले पहिलो संविधानसभामा एमालेले पनि प्रत्यक्ष निर्वाचित कार्यकारीको मुद्दा लिएर चुनावमा गएको स्मरण गरे। उनले भने, ‘त्यसबेलाको एमालेको कुरा गर्नुहुन्छ भने एमालेले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र सेरेमोनियल राष्ट्रपति भनेर संविधानसभाको पहिलो निर्वाचनको बेलामा भनेको हो।’ परिस्थितिमा अहिले धेरै परिवर्तन भइसकेको उनको धारणा छ। नेता पोखरेलको भनाइ थियो, ‘तर त्यो हामीले भनेर मात्रै त हुँदैन। हामी सहमत भएको संविधान कहाँ पुग्यो त?’ तत्कालीन एमाले र माओवादी फरक धरातलमा पुगेको भन्दै नेता पोखरेलले अहिले सहमत भएर अघि बढेको ठाउँलाई मानेर जाने प्रतिक्रिया दिए। उनले भने, ‘नयाँ विषयमा छलफल गरेर जाने कुरा हो, त्यसमा छलफल होला, त्यो अलग खालको कुरा हो। अहिले छलफल पनि भएको छैन। हाम्रो बीचमा त्यो बर्निङ (तातो बहसको) विषय पनि होइन।’ पोखरेलले हालै मात्र पार्टी एकता भएकाले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको बारेमा छलफल र बहसको बेला नभएको बताएका हुन्। उनले अहिले नेपाल कम्युनिस्ट पार्टी पार्टी अन्तरिम विधान र राजनीतिक प्रतिवेदनबाट निर्देशित हुने बताए। उनले भने, ‘पार्टीको सहमति भएको घोषणापत्र र हालै जारी गरिएको अन्तरिम विधानमा पनि अन्तरिम राजनीतिक प्रतिवेदनमा हिजोका एमाले र माओवादी केन्द्र ती दुई दस्तावेजबाट निर्देशित हुन्छन्। ती दुई दस्तावेजमा जे लेखेको छ, त्यसबाट निर्देशित हुन्छन्।’
अहिले पार्टीलाई निर्देशित गर्न माओवादी केन्द्र र नेकपा एमाले एकता हुँदा जारी गरेको अन्तरिम विधान र राजनीतिक प्रतिवेदन रहेको उनको भनाइ थियो। उनले भने, ‘त्यो दस्तावेजमा के छ त? हामी अहिले एकीकृत भइसकेका पार्टीका मान्छेहरूले ती जारी भएका दस्तावेजबाट निर्देशित हुनुपर्छ कि पर्दैन? पर्छ। भनेपछि कसले के बोल्यो। त्यो मुद्दा के हो भन्ने यतिबेला छलफलको विषय होइन। यतिबेला छलफलको विषय पनि हुन सक्दैन।’ अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड पनि सोही अन्तरिम विधान र राजनीतिक प्रतिवेदनबाट नै निर्देशित हुनुपर्ने तथा सबै कार्यकर्ता पनि त्यसैबाट निर्देशित हुने पोखरेलले बताए। प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्था गर्ने विषयमा पार्टीमा छलफल हुन नसके पनि अन्य किसिमले भने बहस हुनसक्ने पोखरेलले बताए। उनले भने, ‘बौद्धिक वृत्तमा छलफल होला। अहिले हामीलाई त्यो विषयले प्रभावित र निर्देशित गर्दैन।’


