काठमाडौं, २४ जेठ । नेपाली काँग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघको बाह्रौं महाधिवेशन साउन २३ देखि २७ गतेसम्म हुने भएको छ । २०७४ असोज ३१ गतेको राष्ट्रिय रणनीतिक प्रशिक्षण भेलाको वन्द सत्रबाट पास भएको समय अनुसार नै महाधिवेशन हुने नेविसंघ प्रबक्ता एवं सहमहामन्त्री प्रेम राज जोशीले जानकारी दिए ।
नेपाल ल क्यासम्पसमा आयोजित अगुवा कार्यकर्ता भेलामा बिहीबार बोल्दै नेविसंघका अध्यक्ष नैनसिंह महरले देश संघीयतामा प्रवेश गरिसकेको अवस्थामा नेविसंघको विधान र नियमावलीलाई समयानुकुल बनाउन मस्यौदा तयार भइसकेको र पूर्व कन्द्रिय अध्यक्ष एवम् पदाधिकारीहरुसँग जेठ ३० मा अन्तरक्रिया कार्यक्रम रहेको बताए ।
यसैगरी असार ३ गते सातै प्रदेशका राजधानीमा विद्यान सम्बन्धि सुझाव संकलन गरिने नेविसंघले जनाएको छ । सुझाव संकलनका लागि नेविसंघले सातै प्रदेशमा विभिन्न व्यक्तिलाई जिम्मेवारी तोकेको छ ।
प्रदेश १ मा विकास केसी, नविन राई, कृष्ण कार्की, प्रदेश २ मा सन्जय यादव, राजेश रौनियार, परमेश्वर शाह, प्रदेश ३ मा रामप्रसाद अधिकारी, उर्मिला थपलिया, प्रेमराज जोशी, माधव ढकाल, महेश्वरी कुँवर, लाई जिम्मेवारी दिइएको छ ।
यस्तै प्रदेश ४ मा डिल्लीराम सुवेदी, सागर परियार, हरिहर शर्मा, शिव रिमाल, प्रदेश ५ मा प्रकाश राना, पवन यादव, प्रकाश घिमिरे, ललिता सुनार, प्रदेश ६ मा खडग डाँगी, ईश्वर बिष्ट, सधना घिमिरे र प्रदेश ७ मा पुष्पकुमार शाही, अम्बिका चलाउने, अच्युत कलौनीलाई जिम्मेवारी दिइएको छ ।
यसैगरी असार १ गतेबाट सदस्यता वितरण गरिने र २० गतेबाट शैक्षिक संस्था, जिल्ला र प्रदेशको अधिवेशन सम्पन्न गर्ने कार्यक्रम रहेको नेविसंघले जनाएको छ ।

