समाचार

ओलीलाई थापाको प्रश्न-तपाईलाई सुपर लम्पसारवादी भन्न पाइने कि नपाउने?

वैशाख ३१, काठमाण्डौ । नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विगतमा अरुलाई लम्पसारवादी भन्ने केपी ओलीलाई आज सुपर लम्पसारवादी भन्न पाइने कि नपाउने भनेर प्रश्न गरेका छन् ।

ओलीअघिका दुई प्रधानमन्त्री पुष्पकमल दाहाल र शेरबहादुर देउवाले पनि मोदीलाई भेटेको र त्यसबेला कसैलाई सिंगडा बेच्न गएको त कसैलाई घुँडा टेक्न गएको भनेको भन्दै थापाले आफूले गर्दा पूण्य, अरुले गर्दा पाप हो भनेर प्रश्न गरेका थिए ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद थापाले भारतीय राष्ट्रपतिको नेपाल भ्रमणमा ओलीले ‘भ्रमण ठीक छ, तर यो तामझाम हेर्दै गर्दा लम्पसारवादी भन्न मन लागेको छ’ भनेको स्मरण गरे । उनले अघि भने, ‘मेरो परिभाषा होइन, उहाँकै परिभाषामा सरकारको यो तामझाम हेर्दा मैले महा लम्पसारवादी भन्न पाउने कि नपाउने ?’

भारतीय मोदीको भ्रमणबारे जानकारी दिने क्रममा प्रधानमन्त्रीले ‘देशको हित विपरित कुन पनि काम गरेको छैन’ भनेको स्मरण गर्दै कांग्रेस सांसद थापाले भने, ‘न सडकमा कसैले भनेको थियो, न संसदमा । यो हिनताबोध किन ?’

ओलीलाई कटाक्ष गर्दै थापाले भने,गरे ‘म सम्झन्छु, त्यो रोष्ट्रममा उभिएर विश्वासको मत माग्दै गर्दा गर्जनुभएको प्रधानमन्त्री । अनि मैले हिजो देखे, शब्द खोज्दै गरेको प्रधानमन्त्री, केही लुकाउन छोप्न खोज्दै गरेको प्रधानमन्त्री । प्रधानमन्त्री गर्जनुभएको त्यो दिन सम्झिएँ मैले ।’

तर, गर्जिने बादल बर्सदैन भन्ने आफूलाई राम्रोसँग थाहा भएकाले अचम्म नलागेको उनको भनाई छ ।

चुनाव प्रचारका क्रममा एमाले अध्यक्ष ओलीले ‘राष्ट्रवादको जिम्मा मैले मात्र लिएको छु’ भन्दै हिँडेको स्मरण गराउँदै सांसद थापाले भने, ‘हिजो अरुलाई कुरीकुरी गर्नुभएको थियो । आज नाङ्गै हिड्नु भएको हामीले देखाउनुपरेको छ ।’

कांग्रेस सांसद थापाले ‘मोदीलाई स्वागत छ, तर नाकाबन्दी बिर्सिएको छैन’ भन्ने ब्यानर (विवेकशील साझा) पार्टी कार्यालयमा राख्न नदिएकोमा पनि आपत्ति जनाएका छन् ।

सम्बोधनका क्रममा थापाले राष्ट्रियतालाई भोटको विषय नबनाउन आग्रह समेत गरेका छन् । नेपालको भारत र चीनसँगको सम्बन्धबारे साझा दृष्टिकोण बनाउने बेला आएको भन्दै उनले भने, ‘सरकारमा रहे पनि प्रतिपक्षमा रहे पनि एक ढिक्का बनौं, अनि बल्ल तीर्थयात्रा होला वा मित्रयात्रा होला, त्यसबाट नेपालले लाभ लिन सक्छ ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *