समाचार

परराष्ट्रमन्त्री ज्ञवाली आज चीन जाँदै

काठमाडौँ, ३ बैशाख । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सोमबार (आज) चीन भ्रमणमा जाँदैछन् । चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणमा राति ११ बजे चीन प्रस्थान गर्ने उनको टोली शनिबार स्वेदश फर्कने कार्यक्रम रहेको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री ज्ञवालीले बुधबार आफ्ना समकक्षी यीसँग भेटघाट गर्ने कार्यक्रम छ । दुई पक्षीय भेटघाटपश्चात् संयुक्त प्रेस वक्तव्यसमेत जारी हुनेछ । चीनका विदेशमन्त्री यीले नेपालका आफ्ना समकक्षीका सम्मानमा दिवाभोजको आयोजना गर्नेछन् ।

बेइजिङमा रहँदा परराष्ट्रमन्त्री ज्ञवालीले चिनियाँ राष्ट्रिय कांग्रेसका अन्य नेताहरुसँग समेत भेटघाट गर्ने कार्यक्रम रहेको छ । उनले चिनियाँ बुद्धिजीवीहरुसँग हुने गोलमेच वार्तालाई सम्बोधन गर्नेछन् ।

चीनका लागि नेपाली राजदूतवासले मंगलबार परराष्ट्रमन्त्री सहितको टोलीलाई स्वागत गर्न दूतावासमा कार्यक्रम आयोजना गरेको छ ।भ्रमणका क्रममा शुक्रबार परराष्ट्रमन्त्री ज्ञवालीले सिचुआन प्रान्तको चेङ्दु सिटीको समेत भ्रमण गर्नेछन् । उनले सिचुआन विश्वविद्यालयमा हुने कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।

औपचारिक कार्यक्रमबाहेक प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको चाँजोपाँजो मिलाउने अपेक्षा पनि गरिएको छ । प्रधानमन्त्री ओली बैसाखभित्रै चीन भ्रमणमा जाने तयारीमा छन् । परराष्ट्रमन्त्री ज्ञवालीको भ्रमणका क्रममा प्रधानमन्त्रीको चीन भ्रमणको मिति टुंगो लाग्न सक्ने अनुमान गरिएको छ ।

ज्ञवालीको भ्रमण मुख्यतयः प्रधानमन्त्रीको चीन भ्रमण र तातोपानी नाका खुलाउन केन्द्रित हुने बुझिएको छ । विभिन्न विकास परियोजना, आर्थिक सहयोग लगायत चीनसंग यसअघि भएको सहमति र सम्झौता कार्यन्वयन गर्ने विषयमा परराष्ट्रमन्त्री ज्ञवालीको भ्रमण अर्थपूर्ण हुने बताईएको छ ।

उत्तरी छिमेकी चीनले दुई देशीय रेलमार्ग निर्माणसहित अन्य आर्थिक सहकार्यको प्रस्ताव गरेको धेरै समय भएपनि यसले मूर्त रुप पाउन सकेको छैन । यस विषयमा पनि मन्त्री ज्ञवालीले चीनीयाँ पक्षसँग कुराकानी गर्ने बुझिएको छ । लामो समयदेखि बन्द रहेको नेपालको सिन्धुपाल्चोक जोड्ने तातोपानी नाका सूचारु गर्नेबारे पनि मन्त्री ज्ञवालीले कुरा गर्ने बुझिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *