समाचार
आर्थिक वर्ष २०८१/८२ मा यस्तो छ काभ्रे जिल्लाका स्थानीय तहहरुकाे प्रगती विवरण

असार ३ मंगलबार ,२०८२
काभ्रेपलान्चोक । जिल्ला समन्वय समिति काभ्रेले आर्थिक वर्ष २०८१/०८२काे प्रगति समीक्षा गरेको छ। जिल्ला समन्वय समितिकाे आठौं जिल्ला सभाले, जिल्लामा रहेका १३ स्थानीय तह , संघ र प्रदेश स्तरीय विषयगत कार्यालयहरुकाे वार्षिक प्रगती विवरण प्रस्तुत गरेकाे हो ।
धुलिखेल अस्पतालकाे अडिटाेरियम हलमा भएको समीक्षा कार्यक्रमकाे जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक कुमार गौतमले सभापतित्व गर्नु भयो भने प्रमुख अतिथि गाेकुल बास्काेटा,विशिष्ट अतिथि रत्न प्रसाद ढकाल, काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. अच्युत प्रसाद पौडेल, १३ वटा स्थानीय तहका प्रमुख तथा उप प्रमुख विभिन्न विषयगत संघीय तथा प्रादेशिक कार्यालय तथा जिल्लामा रहेका संघ सस्थाका प्रमुखहरु उपस्थित रहनु भएको थियो ।
आर्थिक वर्ष २०८१/८२ मा जिसस काभ्रेले विपदबाट आक्रान्त नागरिक तथा पालिकाहरुलाई विनाशबाट पुगेकाे क्षतिपछि राहत र उद्दारमा ठुलाे सहयोग गरेको छ। विपदकाे अनुगमन गरि सम्बन्धि निकाएमा जानकारी गराउने तथा खानी र गिट्टी बालुवाकाे निरीक्षण गर्नुका साथै काठमाडौ विश्वविद्यालयमा विश्व युवा सम्मेलन गरेकाे थियो । जिससले यस वर्ष ७७.४ प्रतिशत वित्तिय प्रगती गरेको छ।
त्यस्तै बनेपा नगरपालिकाले आफ्नो वडाहरुमा विपद व्यवस्था समिति गठन गरिसकेकाे छ। नगरभित्रका सामुदायिक विद्यालयमा दिवा खाजामा पाँच रुपैया थप गरेकाे छ। धुलिखेल नगरपालिकाले विद्यालयमा डिजिटल माध्यमबाट पढाउन सुरु गर्नुका साथै ५७.८ प्रतिशत वित्तीय प्रगति गरेकाे हो। पनौती नगरले भैंसी सुत्केरि भत्तावितरण गरि कृषकलाई प्राेत्साहन गरेकाे छ भने संरक्षित क्षेत्रलाई विश्व सम्पदा सुचिमा सुचिकृत गर्न पहल लिएको छ। नमाेबुद्दले पर्यटन सुचना केन्द बनायाे, ११ हजार ६ सय ३३पशुकाे विमा गरेकाे छ। अस्थाई आबासकाे रकम पूर्ण रुपमा वितरण गरिसकेकाे छ।
उता पाँचखाल नगरले आ.ब. २०८१/८२ मा १ हजार ५ सय ३१ व्यक्तिगत घटना दर्ता गरेकाे तथ्यांकले देखाएको छ। ५१ भन्दा बढि सामुदायिक वनमा फलफूल तथा जडिबुटी राेपेर आत्मनिर्भर बन्ने प्रयास गरेकाे देखिन्छ । मण्डनदेउपुर नगरले जापानकाे एक नगरपालिकासँग भगिनी सम्बन्ध कायम गरि शहर उन्मुख बन्ने प्रयास गरेको थियो । विपदमा परेका नागरिकलाई ५० हजार नगद सहयोग गर्नुका साथै नगरले विद्यार्थीहरुकाे नाक, कान,घाँटीकाे निशुल्क जाँच सुरु गरेको हो ।
महाभारत गाउँ पालिकाले यस आ.ब. शून्य बेरुजु पालिका हुन सफल भई देशमा उदाहरणीय पालिकाकाे रुपमा प्रस्तुत भएको छ। बालबालिकालाई निशुल्क शिक्षा प्रदान गर्नुका साथै कफि राप्ने १ बाेट हातमा २० काे नाेट अभियान मार्फत कृषकसँग सहकार्य गरहेकाे छ। भुम्लु गाउँ पालिकाले डडेलाे मुक्त पालिका घाेषणा गर्याे भने स्थानीय उत्पादन काेदाे र फापरमा २० देखि ३० रुपैयाँ अनुदान दिएको छ । प्रशाकिय भवन निर्माणका लागि जग्गा प्राप्तिकाे काम अगाडि बढेकाे छ । पाँचाँच पाण्डबकाे मुर्ति स्थापना गरि एसईईमा प्रथम स्थान हुने विद्यार्थीलाई १/१लाख रकम दिएर प्राेत्साहन गरिरहेकाे छ।
बेथानचाेक गाउँपालिकाले गत असाेज १२/१३ गतेकाे विपदलाई डटेर सामना गर्याे । ५३.५९ प्रतिशत वित्तिय प्रगती गरेको छ। राेशीले ४४ जना कृषकलाई पशुपालनमा अनुदान दियाे र पालिकाकाे न्यायिक समितिमा दर्ता भएका ९ मुद्दा मध्य ५ मुद्दा मेलमिलाप भइसकेको छ। खानिखाेलाले सुत्केरी महिलालाई निशुल्क एम्बुलेन्स सेवा प्रदान गरेको छ । पालिकाकाे आफ्नो कार्यालय नभएर समस्या भाेग्नु परेकाे छ। चौरीदेउराली गाँउपालिकाले व्यावसायीक खेतिलाई प्राथमिकता दिएको थियो र सामाजिक सुरक्षा भत्ता घर घरमा गएर बाँडने गरेकाे छ र तेमाल गाउँपालिकाले दक्ष जनशक्तिको अभावकाे बीचमा पनि सामाजिक सुरक्षा भत्ता घरदैलोमा पुगेर दिने गरेको छ।
यस्तै जिल्लामा रहेका संघ र प्रदेश अन्तर्गत विषयगत कार्यालयहरुकाे पनि बार्षिक प्रगति समीक्षा गरिएको थियो । कार्यक्रममा उपस्थित बक्ताहरुले कार्यक्रम सफलताको शुभकामना दिएका थिए। साे कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका उप प्रमुख रिम बहादुर तामाङले स्वागत मन्तब्य राख्नु भएको थियो ।
