समाचार

राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइको पूर्वी नहर खण्डको निर्माण अवरोध हट्यो

बाँके, २ मङ्सिर  -राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइको पूर्वी नहर खण्डको निर्माण कार्यका विषयमा टुङ्गो लागेको छ । सिक्टाको पूर्वी खण्ड विस्तारका लागि नरैनापुर क्षेत्रअन्तर्गत कहाँबाट नहर विस्तार गर्ने भन्ने विषयमा विवाद हुँदा निर्माण कार्य प्रभावित हुँदै आएको थियो ।लामो समयदेखि विवादित हुँदै आएको उक्त क्षेत्रमा पूर्वनिर्धारित योजना मुताबिक नहर निर्माण गर्ने सहमति भएको हो ।

सांसद महेश्वर गहतराज अथक र प्रदेशसभा सदस्य कृष्णा केसी नमूनासहितको उपस्थितिमा नरैनापुर क्षेत्रमा सिक्टाको नहर निर्माण कार्यलाई निरन्तरता दिने निर्णय भएको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले जानकारी दिनुभयो ।नहर निर्माणका क्रममा कुनै समस्या उत्पन्न भएमा नरैनापुर गाउँपालिका अध्यक्षसहित सांसद र प्रदेशसभा सदस्यले सहजीकरण गर्ने सहमति भएपछि पूर्वी नहर निर्माणको बाटो खुलेको हो ।

साथै बैठकमा सिक्टा सिँचाइ नहर निर्माण कार्यसँगै पानी पनि छोड्दै जाने सहमति भएको सिक्टा सिँचाइ आयोजना प्रमुख कृष्ण नेपालले जानकारी दिनुभयो ।नहर विस्तार कार्यमा जनताको जमिन क्षति भएमा चलनचल्तीकै दरमा आयोजनाले मुआब्जा दिने सहमति भएको छ । राप्तीपारि पूर्वी नहर निर्माण कार्य सम्पन्न भएमा नरैनापुर क्षेत्रको नौ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने आयोजनाले जनाएको छ । नहर निर्माणका लागि सहमति जुटेपछि केही दिनभित्रै इन्जिनीयरको टोलीले उक्त क्षेत्रको सर्बे गर्ने आयोजनाले जनाएको छ ।(रासस)प्रतिक्रिया दिनुहोस्

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *