समाचार
नेपालगन्जमा वर्षकै सर्वाधिक गर्मी , ‘लु’ चल्न थाल्यो, तापक्रम ४३.५ डिग्री
काठमाडौं । नेपालगन्जमा विगत एक सातादेखि निरन्तर तातो हावा ‘लु’ चलिरहेको छ। शनिबार वर्षकै सर्वाधिक गर्मी ४३ दशमलव ५ डिग्री सेल्सियस तापक्रम पुगेको छ। जल तथा मौसम विज्ञान विभागको नेपालगन्जको राँझास्थित हावापानी फिल्ड कार्यालयका अनुसार विगत एक सातादेखि ३९ देखि ४३.५ डिग्रीसम्म तापक्रम पुगेको छ।शुक्रबार ४३ डिग्री तापक्रम रहेको नेपालगन्जमा शनिबार यो वर्षकै सर्वाधिक तापक्रम ४३ दशमलव ५ डिग्री सेल्सियस मापन भएको हो। न्यूनतम् तापक्रम भने २२.३ डिग्री सेल्सियस मात्र छ।
लु चल्न थालेपछि यहाँको जनजीवन प्रभावित भएको छ। दिउँसो आवत जावत घटेको छ। घरमै बस्दा पनि पंखाले समेत तातो हावा फाल्ने गरेको छ। गर्मी बढ्दै गएकाले नेपालगन्जमा दहीको लस्सी, उखुँको जुस, आइसक्रिम, बदामसेक जस्ता पेय पदार्थ र खबरबुझा, तरबुझा, काँक्राको बजार बढेको छ। यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।




