समाचार
‘मेरो सरकार’ भन्दैमा गणतन्त्रमाथि प्रश्न उठाउन मिल्दैन : देव गुरुङ
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका प्रमुख सचेतक देव गुरुङले नीति तथा कार्यक्रममा प्रयोग भएको नयाँ भाषा र पदावली प्रयोग हुँदैमा गणतन्त्र माथि प्रश्न उठाउन नमिल्ने बताएका छन्। वैशाख २० गते संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दा ‘मेरो सरकार’ भन्ने पदावली प्रयोग गरेकोमा प्रतिपक्षी नेपाली कांग्रेसले प्रश्न उठाएपछि गुरुङले जवाफ दिएका हुन् ।

आइतबार संसदमा नीति तथा कार्यक्रम माथि छलफलका कार्यक्रममा कांग्रेससहित विपक्षी दलहरुले राष्ट्रपतिको भाषाले राजतन्त्र कालीन समय सम्झना गराएको टिप्पणी गरेका थिए । त्यसको जवाफ दिँदै सत्तारुढ नेकपाका सांसद गुरुङले गणतन्त्र माथि प्रश्न उठाउनु पूर्वाग्रही धारणा भएको बताए । ‘भाषाहरु, पदावलीमा प्रश्न उठेको छ, समय क्रममा केही नया पदावली प्रयोग हुन्छन्’ उनले भने ‘भाषा पदावली प्रयोग भएको आधारमा गणतन्त्रमाथि नै प्रश्न उठेका छन् ।
त्यहाँ सम्मको सोचले आग्रह पूर्वाग्रहको पराकाष्टा सम्म पुग्ने त होइन, त्यति सम्म आशंका नगर्न आग्रह गर्दछु ।’ भाषाशैली प्रयोग गर्दा कुन उपयुक्त हुन्छ भन्ने विषयमा बहस हुन सके पनि गणतन्त्र माथि नै प्रश्न उठाउनु उचित नहुने उनको भनाइ छ। नेता गुरुङले सरकारले ल्याएको नीति कार्यक्रम मूल रुपमा सही भए पनि कार्यान्वयनमा समस्या रहेका बताए । कार्यान्वयनको पाटोमा ध्यान दिन नसकेमा कार्यक्रम फितलो हुन सक्छ’ गुरुङले भने ।

