समाचार
आफ्नै कर्मचारीमाथि बलात्कार आरोपमा विराटनगरका उद्योगी गौतम पक्राउ
माेरङ / आफ्नै उद्योगमा कार्यरत कर्मचारीकी श्रीमतीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले बुधबार साँझ विराटनगरका उद्योगी दीपक गौतमलाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–३ घर भएका गौतमलाई प्रहरीले पक्राउ गरेर बिहीबार जवरजस्ती करणी ऐन अन्तर्गतको मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठका अनुसार गौतम विराटनगर–३ बरगाछीमा सञ्चालित ‘फस्ट ग्रेभियर’ उद्योगका सञ्चालक हुन् । उद्योगमा प्लाष्टिक प्याकेजिङका लागि प्रि डिजाईनका कामहरु हुँदै आएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट गौतमले महिलामाथि बैशाख १५ गते साँझ ७ बजे उद्योगकै कोठा भित्र जवरजस्ती लगेर बलात्कार गरेको खुलेको छ । डीएसपी श्रेष्ठका अनुसार ती महिला उद्योगमै कार्यरत आफ्ना श्रीमानसँग उद्योग परिषरमै रहेको फेमिली क्वार्टरमा बस्दै आएकी थिइन । बलात्कारबाट पीडित बन्नु परेको भन्दै बुधबार साँझ महिलाले प्रहरीमा किटानी जाहेरी दिएपछि गौतमलाई तत्कालै पक्राउ गरिएको श्रेष्ठको भनाइ छ । प्रहरीले महिलाको स्वास्थ्य परीक्षण कोसी अस्पताल विराटनगरमा गराएको छ ।