समाचार

नेपाललाई ठूलो सफलता, जोडियो अन्तरीक्ष केन्द्रमा नेपाली भूउपग्रह

काठमाडौं ।नेपालको आफ्नै भूउपग्रह अन्तर्रा्ष्ट्रिय अन्तरीक्ष केन्द्रमा जोडिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)काअनुसार नेपालको आफ्नै भूउपग्रह ‘नेपाली स्याटलाईट वान’ पृथ्वीको तल्लो कक्षमा अवस्थित अन्तर्रा्ष्ट्रिय अन्तरीक्ष केन्द्रमा जोडिएको हो । ललितपुरको खुमलटारस्थित आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरेर नाष्टले सो स्याटलाइट वान पृथ्वीको सतहबाट ४ सय किलोमिटर उचाइमा रहेको पृथ्वीलाई परिक्रमा गर्ने तल्लो कक्षमा अवस्थित अन्तर्रा्ष्ट्रिय अन्तरिक्ष केन्द्रमा जोडिएको जानकारी दिएको हो ।

सो स्याटलाइट ३६ घण्टा ४० मिनेटपछि वैशाख ६ गते नेपाली समयअनुसार दिउँसो ३ बजेर १३ मिनेट जाँदा अन्तर्रा्ष्ट्रिय अन्तरिक्ष केन्द्रमा जोडिन सफल भएको नाष्टका प्रवक्ता डा. सुरेशकुमार ढुंगेलले जानकारी दिए ।

जापानमा विद्यावारिधि गरिरहेका नेपाली बैज्ञानिकद्वय आभास मास्के र इन्जिनियर हरिराम श्रेष्ठले निर्माण गरेको नेपाली स्याटेलाइट वान गएको वैशाख ५ गते नेपाली समयअनुसार बिहान २ बजेर ३१ मिनेट जाँदा अमेरिकाको भर्जि्नियास्थित नासाको रकेट प्रक्षेपण केन्द्रबाट अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्रका लागि पठाइएको थियो ।

अबको करिव डेढ महिनापछि सो नेपाली स्याटलाइटले अन्तरीक्षमा रही पृथ्वीको परिक्रमा गर्नुका साथै प्रतिष्ठानमा निर्माण गर्न लागिएको ग्राउन्ड स्टेशनमा समेत सम्पर्क स्थापित गर्नेछ ।

नाष्टले सो नेपाली स्याटलाइट अन्तरीक्षमा प्रक्षेपणका लागि करिव २ करोड रुपैयाँ लाग्ने अनुमान पनि गरेको छ । विपद् व्यवस्थापन, ग्रामीण भेगमा सूचना प्रविधिको विकासका समेत उपयोगी हुने भएपछि नेपालले आफ्नै स्याटलाइट अन्तरिक्षमा पठाएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *