छोरीचेलीमाथिको आर्थिक शोषण, महिलामाथिको विभेद, पशुहिंसा, मदिराजन्य विकृति र कुसंस्कारविरुद्ध करिब एक शताब्दीअघि नै सामाजिक सुधारको शंखघोष गर्ने १६औँ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको दर्शन आज पनि सामाजिक न्याय, समानता र मानवताको मार्गदर्शक छ।
समाज परिवर्तनको इतिहास केवल राजनीतिक क्रान्ति र सत्ता परिवर्तनबाट मात्र लेखिँदैन। समाजको चेतना बदल्ने, पुस्तौँदेखि जरा गाडेका रूढीवादी मान्यता भत्काउने र समाजलाई समानता, न्याय र मानवीय मूल्यको बाटोमा डोर्याउने विचारले पनि इतिहासमा महत्त्वपूर्ण स्थान ओगट्छ। नेपाली समाजको सामाजिक तथा सांस्कृतिक रूपान्तरणको इतिहासमा महागुरु फाल्गुनन्द लिङ्देन त्यस्तै दूरदर्शी व्यक्तित्व हुनुहुन्छ, जसले धर्मलाई सामाजिक सुधार र मानवताको माध्यम बनाउनुभयो।
नेपालका १६ औँ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दलाई किरात धर्मदर्शनका प्रवर्तक, सत्य, शान्ति र अहिंसाका उपासकका रूपमा सम्मान गरिन्छ। तर उहाँको योगदानलाई धार्मिक आस्था, पूजा-आराधना र जन्मजयन्ती समारोहमा मात्र सीमित गरेर बुझ्नु उहाँको ऐतिहासिक भूमिकाप्रति न्याय गर्नु होइन। उहाँको जीवनदर्शनभित्र महिला अधिकार, आर्थिक शोषणको अन्त्य, पशुकरुणा, लैङ्गिक समानता, शिक्षा, सांस्कृतिक स्वाभिमान, श्रम र उत्पादनशील जीवनशैलीका महत्त्वपूर्ण आयाम समेटिएका छन्। वस्तुतः उहाँको अभियान तत्कालीन किरात समाजको समग्र रूपान्तरणसँग सम्बन्धित थियो।
वि.सं. १९४२ कात्तिक २५ गते इलामको चुक्चिनाम्बामा जन्मिनुभएका फाल्गुनन्दले तत्कालीन समाजमा व्याप्त सामाजिक विकृति, विसङ्गति र कुसंस्कारलाई नजिकबाट नियाल्नुभएको थियो। धर्म र परम्पराका नाममा मानिसले मानिसमाथि गर्ने शोषण, महिलामाथि हुने विभेद, विवाह तथा अन्य संस्कारमा हुने आर्थिक लेनदेन र पशुपक्षीको बलि उहाँका लागि स्वीकार्य थिएन। त्यसैले उहाँले समाजलाई सभ्य, सुसंस्कृत र मानवीय बनाउन धार्मिक चेतनासँगै सामाजिक सुधारको अभियान सञ्चालन गर्नुभयो।
यस अभियानको ऐतिहासिक उपलब्धि वि.सं. १९८८ वैशाख २४ गते पाँचथरको लोब्रेकुटीमा भएको बृहत् चुम्लुङ थियो। तत्कालीन दश लिम्बुवान र सत्र थुमका भद्रभलाद्मी, सुब्बा, अगुवा तथा जान्नेबुझ्ने व्यक्तित्वहरूलाई एकत्रित गरेर उहाँले सामाजिक सुधारका विषयमा छलफल गराउनुभयो। सामूहिक सहमति र प्रतिबद्धताका आधारमा तयार गरिएको सत्यधर्म मुचुल्का तत्कालीन समाजको सामाजिक रूपान्तरणका लागि गरिएको ऐतिहासिक हस्तक्षेप थियो। पुरानो नेपाली कागजमा संरक्षित यसको प्रतिलिपिले पनि त्यस समयको सुधार अभियानको ऐतिहासिक महत्त्व स्मरण गराउँछ।
सुनौली-रुपौली : छोरीचेलीमाथिको आर्थिक शोषणविरुद्ध आवाज -त्यतिबेला किरात लिम्बू समाजमा विवाह संस्कारसँग जोडिएको सुनौली-रुपौली अर्थात् सोतरीत लिने प्रचलन विद्यमान थियो। छोरीचेलीलाई विवाह गरेर अर्को घर पठाउँदा रीतभातका नाममा नगद, जिन्सी तथा विभिन्न उपहार लिने चलन सामाजिक परम्पराका रूपमा स्थापित थियो। कतिपय अवस्थामा यस्तो प्रचलन आर्थिक लेनदेन र पारिवारिक प्रतिष्ठाको विषयसमेत बन्ने गरेको थियो।
महागुरुले यस अभ्यासलाई सामाजिक विकृतिका रूपमा हेर्नुभयो। छोरीचेलीलाई आर्थिक लाभ लिने माध्यम बनाउनु हुँदैन, विवाह मानवीय सम्बन्ध र पारिवारिक आत्मीयताका आधारमा स्थापित हुनुपर्छ भन्ने उहाँको मान्यता थियो। त्यसैले सुनौली-रुपौली (सोतरीत) का नाममा हुने लेनदेन तथा छोरीचेलीबाट रीतभात खाने प्रचलन त्याग्न उहाँले आह्वान गर्नुभयो।
आजको सामाजिक न्यायको दृष्टिकोणबाट हेर्दा यो अभियान महिलाको सम्मान, स्वाभिमान र आर्थिक शोषणविरुद्धको साहसिक हस्तक्षेप थियो। महिलालाई वस्तु वा आर्थिक कारोबारको माध्यम बनाउने प्रवृत्तिमाथि उहाँले करिब एक शताब्दीअघि नै प्रश्न उठाउनुभएको थियो। विवाहलाई आर्थिक लेनदेनभन्दा माथि उठाएर समानता, आत्मसम्मान र मानवीय सम्बन्धमा आधारित बनाउन खोज्नु उहाँको सुधारवादी चिन्तनको महत्त्वपूर्ण पक्ष थियो।
महिला समानता र पशुकरुणाको दूरदर्शी सन्देश
महागुरुको सुधार अभियानको अर्को महत्त्वपूर्ण पक्ष लैङ्गिक समानता थियो। तत्कालीन समाजमा छोरीलाई शिक्षाबाट वञ्चित गर्ने र महिलालाई पुरुषको तुलनामा दोस्रो दर्जामा राख्ने प्रवृत्ति विद्यमान थियो। उहाँले छोराछोरीलाई समान शिक्षा दिनुपर्ने, समान अधिकार प्रदान गर्नुपर्ने र महिलालाई सम्मानपूर्वक व्यवहार गर्नुपर्ने मान्यता अघि सार्नुभयो। आज महिला शिक्षा, समान अवसर र निर्णय प्रक्रियामा सहभागिताका विषयमा भइरहेका बहससँग उहाँको त्यतिबेलाको सन्देश जोडेर हेर्न सकिन्छ।
उहाँको सुधार अभियान मानिसमा मात्र सीमित थिएन। पशुपक्षीमाथि हुने हिंसा र धार्मिक अनुष्ठानका नाममा दिइने बलिविरुद्ध पनि उहाँले आवाज उठाउनुभयो। जन्म, विवाह, मृत्यु तथा अन्य संस्कारमा पशुबलि दिने र मासु तथा मदिराको अत्यधिक प्रयोग गर्ने प्रचलनलाई निरुत्साहित गर्नुभयो। धार्मिक कार्यलाई हिंसामुक्त र मानवीय बनाउनुपर्ने उहाँको आग्रह थियो। बलिको सट्टा फलफूल तथा अन्य अहिंसात्मक सामग्री प्रयोग गर्न सकिने मान्यता स्थापित गर्नुभयो।
आज पशु अधिकार, प्राणीप्रति करुणा र प्रकृतिसँगको सहअस्तित्वका विषयमा विश्वव्यापी बहस भइरहेका बेला उहाँको अहिंसामुखी दर्शन झन् सान्दर्भिक देखिन्छ। मानिसको आस्था र संस्कारले अर्को प्राणीको जीवनमाथि हिंसा गर्ने छुट दिनु हुँदैन भन्ने उहाँको सन्देश मानवताको व्यापक अवधारणासँग जोडिन्छ।
कुसंस्कारबाट सुसंस्कृत समाजतर्फ
तत्कालीन समाजमा जन्म, विवाह, मृत्यु र विभिन्न सामाजिक जमघटमा अत्यधिक मदिरा तथा मासुको प्रयोग गर्ने चलन थियो। संस्कारका नाममा हुने अनावश्यक खर्च, भोजभतेर र देखावटी प्रतिस्पर्धाले समाजमा आर्थिक भारसमेत थपिरहेको थियो। महागुरुले यस्ता अभ्यास त्याग्न र सादा जीवनशैली अपनाउन आग्रह गर्नुभयो। श्रम, सीप र उत्पादनलाई महत्त्व दिँदै आत्मनिर्भर जीवनयापन गर्न प्रेरित गर्नुभयो।
उहाँको दृष्टिमा संस्कारको महत्त्व खर्चको मात्रा र देखावटी प्रदर्शनमा होइन, त्यसले व्यक्त गर्ने मानवीय भावना र सामाजिक सम्बन्धमा निहित हुनुपर्छ। आफ्नो सामर्थ्यअनुसार जीवनयापन गर्ने, अनावश्यक आर्थिक भारबाट मुक्त हुने र श्रमको सम्मान गर्ने उहाँको सन्देश आजको उपभोक्तावादी समाजमा पनि उत्तिकै उपयोगी छ।
यससँगै उहाँले किरात समुदायको मौलिक धर्म, भाषा, लिपि, साहित्य, मुन्धुम र संस्कृतिको संरक्षणमा जोड दिनुभयो। मुन्धुमको संरक्षण तथा संहिताकरण, सिरिजङ्गा लिपिको प्रचारप्रसार र मातृभाषामा शिक्षा प्रदान गर्नुपर्ने आवश्यकतामा उहाँले जोड दिनुभयो। कुनै पनि समुदायको पहिचान भाषा, इतिहास, संस्कृति र सभ्यतासँग जोडिएको हुन्छ भन्ने उहाँको चेतना थियो। धर्म सुधार र सांस्कृतिक पहिचानको संरक्षणलाई सँगसँगै अघि बढाउनु उहाँको अभियानको विशिष्ट पक्ष हो।
औपचारिक सम्मानभन्दा विचारको कार्यान्वयन महत्त्वपूर्ण
नेपाल सरकारले उहाँको योगदानको कदर गर्दै वि.सं. २०६६ मङ्सिर १६ गते राष्ट्रिय विभूति घोषणा गरेको हो। उहाँलाई नेपालको १६औँ राष्ट्रिय विभूतिका रूपमा सम्मान गरिएको छ। उहाँको सम्मानमा हुलाक टिकट प्रकाशन गरिएको छ भने शैक्षिक पाठ्यक्रममा समेत जीवनी समेटिएको छ। उहाँको जन्मजयन्तीले धार्मिक तथा सामाजिक पर्वका रूपमा व्यापकता पाउँदै आएको छ।
तर महागुरुको जन्मजयन्ती मनाउनुको वास्तविक अर्थ उहाँको तस्बिरमा माल्यार्पण गर्नु, धार्मिक अनुष्ठान गर्नु र प्रवचन आयोजना गर्नुमा मात्र सीमित हुनुहुँदैन। उहाँले उठाउनुभएका सामाजिक न्यायका मुद्दालाई आजको जीवन र व्यवहारसँग जोड्न सक्नुपर्छ। छोरीचेलीको सम्मान, महिलाको समान अधिकार, जातीय विभेदको अन्त्य, पशुकरुणा, अनावश्यक खर्चको नियन्त्रण, श्रमको सम्मान तथा भाषा र संस्कृतिको संरक्षणमा उहाँको विचारलाई व्यवहारमा उतार्नु आवश्यक छ।
आज पनि नेपाली समाजमा दाइजो, विवाहको तडकभडक, लैङ्गिक विभेद, जातीय छुवाछुत, अन्धविश्वास र पशुहिंसाका विभिन्न स्वरूप कायम छन्। परम्पराका नाममा यस्ता विकृतिलाई निरन्तरता दिइरहने हो भने महागुरुले देखाउनुभएको सुधारको मार्ग अधुरै रहनेछ।
करिब एक शताब्दीअघि लोब्रेकुटीमा भएको ऐतिहासिक चुम्लुङले तत्कालीन समाजलाई दिएको सन्देश आजको पुस्ताका लागि पनि उत्तिकै महत्त्वपूर्ण छ। सामाजिक परिवर्तनका लागि सामूहिक प्रतिबद्धता, कुरीतिविरुद्ध साहस, महिलाप्रति सम्मान, प्राणीप्रति करुणा र मानवताप्रति समर्पण आवश्यक हुन्छ भन्ने कुरा उहाँको अभियानले देखाएको छ।
महागुरु फाल्गुनन्द कुनै एउटा धार्मिक समुदायका मात्र सम्पत्ति होइनन्। उहाँ नेपाली समाजको साझा ऐतिहासिक धरोहर हुनुहुन्छ। उहाँको योगदानलाई धार्मिक गुरुको परिचयमा मात्र सीमित नगरी सामाजिक न्याय, महिला समानता, आर्थिक शोषणविरुद्धको चेतना, पशुकरुणा र सांस्कृतिक स्वाभिमानका अग्रदूतका रूपमा राष्ट्रिय इतिहासमा स्थापित गर्न आवश्यक छ।
महागुरुको सच्चा सम्मान उहाँको सालिकमा फूल चढाउनु मात्र होइन, उहाँले देखाउनुभएको सत्य, शान्ति, अहिंसा, समानता र न्यायको मार्गमा समाजलाई अघि बढाउनु हो। सुनौली-रुपौलीको आर्थिक शोषणदेखि पशुबलिको हिंसासम्म प्रश्न उठाउने उहाँको साहसिक अभियानलाई नयाँ पुस्ताले आत्मसात् गर्न सके मात्र सामाजिक रूपान्तरणको उहाँको सपना सार्थक हुनेछ।


