युरोपका विभिन्न देशमा पछिल्लो समय साइबर आक्रमणका घटना बढेपछि इटालीले आफ्नो साइबर सुरक्षा प्रणालीलाई थप सुदृढ बनाउने भएको छ। साइबर सुरक्षासम्बन्धी निकायबीच समन्वय, सूचनाको आदानप्रदान र प्रणाली सुरक्षामा लगानी बढाउने निर्णय इटालीले गरेको छ।
इटालीको आन्तरिक मन्त्रालयका अनुसार मंगलबार बसेको सार्वजनिक व्यवस्था तथा सुरक्षा राष्ट्रिय समितिको बैठकले साइबर सुरक्षा मजबुत बनाउने विभिन्न उपायमा सहमति जनाएको हो। बैठकको अध्यक्षता गृहमन्त्री मत्तेओ पियानतेदोसीले गर्नुभएको थियो।
बैठकमा इटालीका सरकारी तथा अन्य महत्त्वपूर्ण प्रणालीको सुरक्षा क्षमता, अत्यावश्यक सेवाको निरन्तरता र पछिल्लो समय युरोपका विभिन्न देशमा भएका साइबर आक्रमणका तरिकाबारे समीक्षा गरिएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
आक्रमणसम्बन्धी अनुसन्धान जारी रहेकै अवस्थामा समितिले अध्ययन गरिएका घटनाहरूको साझा उद्देश्य अस्थिरता सिर्जना गर्ने, निराधार त्रास फैलाउने तथा लक्षित संस्थाहरूको प्रतिष्ठामा क्षति पुर्याउने रहेको निष्कर्ष निकालेको छ।
बैठकमा सरकारी प्रशासन, महत्त्वपूर्ण पूर्वाधार, व्यावसायिक प्रतिष्ठान र सर्वसाधारणलाई लक्षित हुन सक्ने साइबर सुरक्षा जोखिमबारे पनि छलफल भएको थियो। सम्भावित आक्रमणबाट सार्वजनिक सेवा प्रभावित हुन नदिन थप सुरक्षा उपाय अपनाउने विषयमा समितिले जोड दिएको छ।
सहमति भएका उपायमध्ये प्रहरी, गुप्तचर निकाय र साइबर सुरक्षा संस्थाबीच जारी अनुसन्धान तथा सूचनामूलक काममा थप समन्वय गर्ने विषय प्रमुख रहेको छ। साथै, सरकारी तथा निजी क्षेत्रका संस्थाबीच साइबर जोखिमसम्बन्धी सूचना आदानप्रदानलाई विस्तार गर्ने निर्णय गरिएको छ।
यसका अतिरिक्त साइबर सुरक्षा प्रणालीलाई बलियो बनाउन र सम्भावित आक्रमणको तत्काल सामना गर्ने क्षमता विकास गर्न थप लगानी गरिने मन्त्रालयले जनाएको छ।
इटालीको पछिल्लो निर्णयले साइबर आक्रमणबाट सरकारी सेवा, महत्त्वपूर्ण पूर्वाधार र निजी क्षेत्रको सुरक्षा सुनिश्चित गर्न युरोपेली मुलुकहरूबीच समन्वय तथा सहकार्यको आवश्यकता थप उजागर गरेको छ।


