रोबोटको बढ्दो प्रयोगमा सिङ्गापुर- यातायात, विमानस्थल, आवासीय भवनदेखि सार्वजनिक सुरक्षा

अ+
अ
अ-

यातायात, विमानस्थल, आवासीय भवनदेखि सार्वजनिक सुरक्षा व्यवस्थासम्म रोबोटको प्रयोग विस्तार गर्दै सिङ्गापुरले स्वचालित प्रविधिलाई दैनिक जीवनको हिस्सा बनाउन थालेको छ । अनुसन्धान, विकास र व्यावसायिक प्रयोगमा सक्रिय ३०० भन्दा बढी रोबोटिक्स कम्पनी रहेको सिङ्गापुरमा अब रोबोटलाई विभिन्न क्षेत्रमा जनशक्तिको सहयोगीका रूपमा परिचालन गर्ने तयारी भइरहेको छ ।

सिङ्गापुरको दक्षिणी तटमा रहेको पर्यटकीय टापु सेन्टोसा स्वचालित सवारीसाधन परीक्षणको नयाँ केन्द्र बनेको छ । सन् २०२७ को सुरुदेखि पर्यटक तथा आगन्तुकले राइड–हेलिङ एपमार्फत स्वचालित मिनीबस बुक गरेर टापुभित्रका यातायात केन्द्र, होटल र पर्यटकीय स्थलसम्म यात्रा गर्न सक्नेछन् ।

सेन्टोसा विकास निगम र राइड–हेलिङ कम्पनी टाडाबीचको सहकार्यमा सञ्चालन हुने उक्त सेवा चीनको ग्वाङ्झाउमा मुख्यालय रहेको वेराइड कम्पनीले विकास गरेका बसमार्फत उपलब्ध गराइनेछ । आठ जनासम्म यात्रु बोक्न सक्ने यी बसले सडकमा पैदलयात्री र अन्य सवारीसाधन देख्दा गति कम गर्ने तथा आवश्यकताअनुसार मोडिने सुविधा राखेका छन् ।

हालै गरिएको परीक्षणमा वर्षाका बीच पनि बसले सहज रूपमा यात्रा गरेको थियो । बसभित्र राखिएको स्क्रिनमा वरपरका सवारीसाधन र पैदलयात्रीको वास्तविक समयको त्रिआयामिक दृश्य देखिने व्यवस्था छ ।

सेन्टोसामा स्वचालित बसको परीक्षण पहिलोपटक हुन लागेको भने होइन । सन् २०२५ जुलाईदेखि वेराइडका सवारीसाधनलाई रिसोट्र्स वल्र्ड सेन्टोसाको शून्य दशमलव ४९ वर्ग किलोमिटर क्षेत्रमा सञ्चालन अनुमति दिइएको थियो । नयाँ परीक्षणले सन् २०२७ देखि टापुको पश्चिमी क्षेत्र समेट्ने र क्रमशः अन्य क्षेत्रमा विस्तार हुने योजना छ ।

हाल प्रत्येक बसमा तालिमप्राप्त सुरक्षा कर्मचारी रहनेछन् । वेराइडका अन्तर्राष्ट्रिय व्यापार निर्देशक निकोलस टेले आवश्यक परीक्षण पूरा गरी सुरक्षित सञ्चालन प्रमाणित भए भविष्यमा पूर्ण चालकविहीन सेवा सञ्चालन गर्न सकिने बताउनुभएको छ । सेन्टोसा विकास निगमका प्रमुख कार्यकारी अधिकृत थियेन क्वि एन्गले सेन्टोसालाई नयाँ यातायात प्रविधि परीक्षण गर्ने ‘जीवित प्रयोगशाला’ बनाउने लक्ष्य रहेको बताउनुभएको छ ।

सिङ्गापुरका अन्य क्षेत्रमा पनि यस्ता प्रयोग भइरहेका छन् । पङ्गगोल डिजिटल जिल्लामा सामान ढुवानी, सरसफाइ र सुरक्षा गस्तीका लागि स्वचालित रोबोट परीक्षण गरिँदैछ भने जुराङ इनोभेसन जिल्लामा स्वचालित निर्माण उपकरणको परीक्षण भइरहेको छ । समुद्री क्षेत्रमा स्वचालित जहाज र ड्रोनसमेत परीक्षणका क्रममा छन् ।

दैनिक सार्वजनिक सेवामा पनि रोबोटको प्रयोग बढेको छ । यस वर्ष अगस्टको अन्त्यदेखि सेप्टेम्बरको मध्यसम्म लिटिल इन्डिया एमआरटी स्टेसनमा १।२७ मिटर अग्लो मानवरूपी रोबोट परिचालन गरिएको थियो । हरियो रङको भेस्ट लगाएको उक्त रोबोटले यात्रुलाई बाटो पहिल्याउन सहयोग गरेको थियो ।

चाङ्गी विमानस्थलमा सरसफाइका लागि रोबोट प्रयोग भइरहेको छ । त्यस्तै, सामाजिक सेवा संस्था लायन्स बेफ्रेन्डर्सले वृद्धवृद्धाको बसोबास बढी भएका आवासीय भवनमा सामान पु¥याउन स्वचालित रोबोट परिचालन गरेको छ । ती रोबोटले लिफ्टसमेत आफैँ प्रयोग गरी खाना, औषधि र अन्य आवश्यक सामग्री सम्बन्धित घरसम्म पु¥याउँछन् ।

सार्वजनिक सुरक्षाका लागि पनि रोबोटको प्रयोग विस्तार भइरहेको छ । गत सेप्टेम्बरमा सिङ्गापुरले होम टिम ह्युमनोइड रोबोटिक्स सेन्टर सञ्चालनमा ल्याएको थियो । उक्त केन्द्रमा विस्फोट भएका स्थानको अनुसन्धान, खतरनाक तरल पदार्थको व्यवस्थापन तथा जेलभित्र प्रतिबन्धित वस्तुको खोजीजस्ता जोखिमपूर्ण कामका लागि रोबोटलाई तालिम दिइन्छ । यसबाट सुरक्षाकर्मीलाई जोखिमपूर्ण अवस्थामा प्रत्यक्ष खटाउनुपर्ने आवश्यकता घट्ने अपेक्षा गरिएको छ ।

सन् २०२८ सम्ममा सुरक्षाकर्मीसँगै वास्तविक कार्यक्षेत्रमा परिचालन गर्न सकिने पहिलो मानवरूपी रोबोट तैनाथ गर्ने सिङ्गापुरको योजना छ ।

सिङ्गापुर आर्थिक विकास बोर्डको यस वर्ष प्रकाशित प्रतिवेदनअनुसार मुलुकमा अनुसन्धान तथा विकास, प्रविधि निर्माण र प्रयोगमा संलग्न ३०० भन्दा बढी रोबोटिक्स कम्पनी सञ्चालनमा छन् । ती कम्पनीले उत्पादन, स्वास्थ्य सेवा, आतिथ्य, महत्त्वपूर्ण पूर्वाधार, ढुवानी तथा आपूर्ति व्यवस्थापनलगायत क्षेत्रमा काम गरिरहेका छन् ।
—