काठमाडौँ । काठमाडौँस्थित बङ्गलादेशी दूतावासले विविध कार्यक्रम आयोजना गरी बङ्गलादेशको राष्ट्रिय क्रान्ति तथा एकता दिवस मनाएको छ ।
सन् १९७५ नोभेम्बर ७ तारिखमा भएको ऐतिहासिक घटनाको स्मरण तथा बङ्गलादेशको इतिहासमा त्यस दिनको महत्व उजागर गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमको प्रारम्भ बङ्गलादेशको राष्ट्रिय झण्डोत्तोलन गरी गरिएको थियो भने वक्ताहरूले सहिदको आत्माको चिरशान्ति तथा देशको निरन्तर शान्ति र समृद्धिको कामना गर्दै विशेष प्रार्थना गरिएको थियो ।
दिवसका अवसरमा बङ्गलादेशका राष्ट्रपति र प्रधानमन्त्रीले जारी गर्नुभएका शुभकामना सन्देशसमेत वाचन गरिएको थियो । यसैगरी दिवसको ऐतिहासिक पृष्ठभूमि र महत्त्व झल्काउने दुई वृत्तचित्र प्रदर्शन गरिएको थियो ।
वक्ताहरूले ऐतिहासिक महत्त्व, राष्ट्र निर्माणको प्रक्रियामा त्यसले पुर्याएको योगदान तथा बङ्गलादेशको राजनीतिक इतिहासमा त्यसको भूमिकाबारे चर्चा गर्नुभएको थियो । उहाँहरूले बहुदलीय प्रजातन्त्र, अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको पुन:स्थापनामा सहिद एवं प्रथम राष्ट्रपति जियाउर रहमानले निर्वाह गर्नुभएको भूमिकाको स्मरण गर्नुभयो ।
साथै राष्ट्रिय एकता, सार्वभौमिकता र जनताको सामूहिक आकाङ्क्षाको संरक्षण गर्दै मुलुकको स्वतन्त्रता र लोकतान्त्रिक यात्रालाई अघि बढाउन उहाँले पुर्याउनुभएको योगदानको पनि चर्चा गरिएको थियो ।
बङ्गलादेशका लागि नेपालका राजदूत शफिकुर रहमानले बङ्गलादेशको राजनीतिक इतिहासको महत्वपूर्ण मोडका रूपमा व्याख्या गर्नुभयो । उहाँले स्वतन्त्रताका उद्घोषक तथा ‘वीर उत्तम’ उपाधिप्राप्त सहिद राष्ट्रपति रहमानलाई सोही दिन सैनिक सहकर्मी र आमनागरिकले बन्दी अवस्थाबाट मुक्त गराएको स्मरण गर्नुभयो ।


