न्यायाधीशकाे आचरण माथि प्रश्न,छानबिन गरि कार्वाही गर्न पूर्वन्यायाधीश फाेरमकाे अपिल

अ+
अ
अ-

काठमाडौं । पूर्व न्यायाधीश फोरम, नेपालले सर्वोच्च अदालतका केही न्यायाधीशहरूको न्यायिक आचरणलाई लिएर सार्वजनिक भएका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

फोरमले प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा न्यायाधीशहरूको न्यायिक आचरणविरुद्धका गतिविधिबारे सार्वजनिक भएका विवरण र त्यससम्बन्धमा सर्वोच्च अदालतको पूर्ण इजलासबाट २०८३ कात्तिक १६ गते भएको निर्णयप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको हो।

विज्ञप्तिमा विधिको शासनको मूल्य र मान्यतालाई शिरोधार्य गर्दै स्वतन्त्र, सक्षम, प्रभावकारी, गरिमामय तथा जनआस्थामा आधारित उत्तरदायी न्यायपालिकाको पक्षमा आफूहरू क्रियाशील रहँदै आएको उल्लेख गरिएको छ।

तर, सर्वोच्च अदालतकै न्यायाधीशबाट न्यायिक आचरणको बेवास्ता भएको भन्ने समाचार सार्वजनिक भएपछि संस्था स्तब्ध भएको फोरमले जनाएको छ।

फोरमले न्यायिक स्वतन्त्रता, निष्पक्षता, निष्ठा, सदाचार, सक्षमता, समानता र लगनशीलतालाई न्यायाधीशको आचारसंहिताका आधारभूत तत्वका रूपमा स्मरण गराएको छ। आचारसंहिता कार्यान्वयनका लागि न्यायाधीश स्वयं सचेत हुनुपर्ने भन्दै न्यायिक मर्यादा जोगाउन आग्रह गरेको छ।

न्यायाधीशहरूले आफ्नो पेसागत इमानदारिता र आचरणगत शुद्धताको छवि जनमानसमा प्रस्तुत गर्नुपर्ने उल्लेख गर्दै फोरमले न्यायपालिकाको सर्वोच्च अंगको गरिमा अक्षुण्ण राख्न सम्बन्धित सबैको ध्यानाकर्षण गराएको छ।

प्रत्येक न्यायाधीश आफ्नो काम र व्यवहारप्रति जवाफदेही हुनुपर्ने भन्दै फोरमले न्यायपालिकाको गरिमा र जनविश्वास कायम राख्न न्यायिक आचरणको पालना अपरिहार्य रहेको जनाएको छ।

पूर्व न्यायाधीश फोरम, नेपालले न्यायपालिकाको स्वतन्त्रता, निष्पक्षता र संस्थागत विश्वसनीयता कायम राख्नुपर्नेमा जोड दिएको छ।