काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीच पार्टी एकता तथा कम्युनिस्ट आन्दोलनको एकीकरणका लागि १० बुँदे सहमति भएको छ। दुवै पार्टीका नेताहरूले पार्टी एकता प्रक्रियालाई अघि बढाउन विभिन्न राजनीतिक, वैचारिक तथा सांगठनिक विषयमा सहमति जनाएका हुन्।
सहमति पत्रमा संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, राष्ट्रिय स्वाधीनताको रक्षा, सुशासन, सामाजिक न्याय र आर्थिक रूपान्तरण गर्दै समाजवादको लक्ष्य प्राप्त गर्न कम्युनिस्ट आन्दोलनको एकीकरण आवश्यक रहेको उल्लेख गरिएको छ।
सहमति अनुसार पार्टीको मार्गनिर्देशक सिद्धान्त मार्क्सवाद–लेनिनवाद हुने र नेपाली क्रान्तिको कार्यक्रम नेपाली विशेषतासहितको वैज्ञानिक समाजवाद हुने उल्लेख छ।
त्यस्तै, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधीनताको संरक्षण, सुशासन, सामाजिक न्याय तथा आर्थिक समृद्धि र रूपान्तरणलाई तत्कालीन कार्यनीति बनाउने सहमति भएको छ।
आन्दोलनको स्वरूप मूलतः शान्तिपूर्ण हुने भए पनि समय र परिस्थितिअनुसार आन्दोलनका विभिन्न रूप प्रयोग गर्न सकिने सहमतिपत्रमा उल्लेख छ। सडक, संसद् र सरकारलगायत सबै मोर्चालाई आन्दोलनका रूपमा उपयोग गरिने जनाइएको छ।
आगामी स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि पार्टीको एकता राष्ट्रिय महाधिवेशन आयोजना गर्ने सहमति पनि भएको छ।
सांगठनिक समायोजनअन्तर्गत केन्द्रीय समिति, केन्द्रीय कार्यसमिति, केन्द्रीय सचिवालय, केन्द्रीय कार्य संयोजन समिति तथा अन्य केन्द्रीय निकायहरू सहमतिका आधारमा समायोजन गरिनेछ। पार्टीका सबै तहका समिति र जनसंगठनहरूमा पनि सहमतिका आधारमा समायोजन गर्ने उल्लेख छ। उक्त प्रक्रिया यही मंसिर मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
पार्टी समितिहरूको सञ्चालन विधि, पद्धति र जनवादी केन्द्रीयताको सिद्धान्तअनुसार हुने सहमति भएको छ।
पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ र चुनाव चिह्न ‘पाँचकुने तारा’ कायम रहने सहमति पत्रमा उल्लेख छ।
सैद्धान्तिक तथा वैचारिक मतभेदका विषयमा एकताबद्ध भएरै छलफल गर्ने र विगतका समीक्षा गर्दै निरन्तर संवादमार्फत एकता राष्ट्रिय महाधिवेशनबाट निष्कर्षमा पुग्ने सहमति गरिएको छ।
सहमति पत्रमा २०८५ कात्तिक १७ गते हस्ताक्षर गरिएको छ। नेपाल कम्युनिस्ट पार्टीका महासचिव धर्मेन्द्र बास्तोला, नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल र संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हस्ताक्षर गरेका छन्।


