राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले समाजलाई अति दलीयकरणबाट मुक्त गर्न आग्रह गर्दै यस कार्यमा समाजिक सङ्घसंस्थाको भूमिका अहम हुने बताउनुभएको छ ।
आज सुनसरीमा तरहरा जेसीस सप्ताहको उद्घाटन गर्दै उहाँले सबैतिर राजनीतिकरण एवं दलीयकरणको दबदबाले अपेक्षति सामाजिक विकास हुन नसकेको औँल्याउनुभयो ।
अहिलेको समाज विस्तारै दलीयकरणतर्फ धकेलिइरहेको बताउँदै उहाँले मुलुकको युवा बर्गलाई सामाजिक विकास, उद्यमशीलता र राष्ट्रको हर क्षेत्रको नेतृत्वदायी भूमिकामा लाग्न प्रेरित गर्नुपर्नेमा जोड दिनुभएको हो ।
सचेतक परियारले भन्नुभयो, “समाज अति दलीयकरणको मारमा परेको छ, कम्तिमा पनि सामाजिक पछ्यौटेपनका विरुद्धमा लागिरहेका अगुवा सङ्घसंस्थाले आफूलाई यस्तो छाँयाबाट परै राख्न सकेमा समाजको गतीशीलता अझ बढ्दै जान्छ । मुलुकको बृहत्तर हितका लागि यो अब आवश्यक भइसकेको छ ।” सचेतक परियारले मुलुकको युवा बर्गलाई आफ्ना योग्यता र क्षमताअनुसार उद्यमशीलता र सिर्जनशीलताको अभियानमा लाग्न पनि आग्रह गर्नुभयो ।
जेसिजजस्ता संस्थाले नेपालको सामाजिक जागरण एवं युवा परिचालनका क्षेत्रमा पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै आफू पनि जेसीज अभियानको एउटा अङ्ग हुन पाएकामा गौरव महसुस गरेको धारणा उहाँले राख्नुभयो ।
त्यस अवसरमा तरहरा जेसीजका पूर्वअध्यक्ष, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, जेसीजका सदस्य एवं स्थानीय समाजसेवीले जेसिज जागरण र सामाजिक अभियानका बारेमा चर्चा गर्नुभएको थियो । सो कार्यक्रममा सचेतक परियारले त्यहाँ आयोजित प्रतियोगिताका विजयी सुरज तामाङ र प्रतिमा चौधरीलाई पुरस्कार वितरण गर्नुभएको थियो ।
—


