काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम नामावलीअनुसार सभापति पदमा गगनकुमार थापा र श्यामकृष्ण खड्गीबीच प्रतिस्पर्धा हुने भएको छ।
वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित भएका छन्। त्यस्तै, महिला उपसभापतिमा पुष्पा भुसाल पनि निर्विरोध निर्वाचित भएकी छन्।
खुला उपसभापतिका दुई पदका लागि गोविन्द भट्टराई, डा. चन्द्रकान्त भण्डारी, प्रा.डा. चन्द्रमोहन यादव, दीपक गिरी, धनराज गुरुङ, ई. मधु आचार्य र सुरेन्द्रराज पाण्डे गरी सात जनाको उम्मेदवारी कायम भएको छ।
समावेशी उपसभापतिको एक पदका लागि जीवन परियार, फरमुल्लाह मंसुर, विनोदकुमार चौधरी, रञ्जित कर्ण र सीता गुरुङ प्रतिस्पर्धामा छन्।
महामन्त्रीका तीन पदमध्ये खुलातर्फ दुई पदका लागि अमरसिंह पुन मगर, उदयशमशेर राणा, गुरुराज घिमिरे, नैनसिंह महर, प्रदीप पौडेल, शंकर तिवारी, डा. सन्तोष उपाध्याय र डा. सुनिलकुमार शर्मा उम्मेदवार छन्।
महिला महामन्त्रीको एक पदका लागि डा. डिला संग्रौला, महालक्ष्मी उपाध्याय (डिना) र रीता खनालबीच प्रतिस्पर्धा हुने भएको छ।


