कांग्रेसले स्थानीय तह निर्वाचनमा सयभन्दा बढी पालिकामा महिला उम्मेदवार प्रमुखमा उठाउने

नेपाली कांग्रेसका सभापति थापा - मन्तव्य काठमाडौँ, १८ असोज : नेपाली काङ्ग्रेसको आइतबारदेखि काठमाडौँको खुलामञ्चमा सुरु भएको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा मन्तव्य राख्नुहुँदै नेपाली कांग्रेसका सभापति गगनकुमार थापा । तस्बिर : गोपाल दाहाल/रासस
अ+
अ
अ-

काठमाडौं । नेपाली कांग्रेसले आगामी स्थानीय तह निर्वाचनमा ७ सय ५३ पालिकामध्ये सयभन्दा बढी पालिकामा महिला उम्मेदवारलाई प्राथमिकता दिने भएको छ।

कांग्रेसको १५औँ महाधिवेशनको बन्द सत्रमा सभापति गगन थापाले आगामी निर्वाचनमा उम्मेदवार छनोटका लागि नयाँ मापदण्ड बनाइने बताएका हुन्।

थापाले स्थानीय तह, प्रदेश तथा संघीय निर्वाचनमा पद, नातावाद वा पैसाको आधारमा टिकट वितरण नहुने स्पष्ट पारे। उनका अनुसार निर्वाचनलाई लक्षित गर्दै महाधिवेशनपछि कांग्रेसले उम्मेदवार छनोट र प्रशिक्षणका लागि छुट्टै संरचना निर्माण गर्नेछ।

कांग्रेसले ‘इलेक्सन ब्युरो’ गठन गर्ने र उम्मेदवार छनोटको जिम्मेवारी उक्त ब्युरोलाई दिने तयारी गरेको छ। त्यस्तै, स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न चाहने आकांक्षीलाई ‘लिडरसिप एकेडेमी’मार्फत प्रशिक्षण दिने व्यवस्था गरिने थापाले बताए।

प्रशिक्षणमा पार्टीको संगठन र राजनीतिक गतिविधिसँगै सार्वजनिक पदमा निर्वाचित भएपछि कसरी प्रभावकारी रूपमा सार्वजनिक जिम्मेवारी निर्वाह गर्ने भन्ने विषयलाई प्राथमिकता दिइने उनको भनाइ छ। प्रशिक्षण पूरा गरेका आकांक्षीलाई मात्र उम्मेदवार बनाउने व्यवस्था गर्ने तयारी कांग्रेसको छ।

थापाले कांग्रेसले ‘द गभर्नन्स इन्स्टिच्युट’ समेत स्थापना गर्ने बताए। उक्त संस्थाले नयाँ घोषणापत्र निर्माण गर्नुका साथै राजनीतिक तथा प्रशासनिक कार्यभारसँग सम्बन्धित नीति र कार्यविधि तयार गर्ने उनले जानकारी दिए।

कांग्रेसले आगामी निर्वाचनलाई लक्षित गर्दै महिला सहभागिता बढाउने, उम्मेदवार छनोटलाई व्यवस्थित गर्ने र निर्वाचित जनप्रतिनिधिलाई आवश्यक प्रशिक्षण दिने नीति अघि सारेको हो।