काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले पार्टीभित्रको आन्तरिक एकतालाई मजबुत बनाउँदै मुलुकका प्रमुख राजनीतिक शक्तिहरूसँग सहमति र सहकार्यका आधारमा अघि बढ्नुपर्ने बताएका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहमा बोल्दै बानियाँले बदलिँदो राजनीतिक परिवेशमा कांग्रेसलाई थप एकताबद्ध र सुदृढ बनाएर अघि बढाउनुपर्नेमा जोड दिए।
उनले कांग्रेसले लोकतन्त्र, जनता, गरिब, निमुखा तथा आवाजविहीन नागरिकको पक्षमा निरन्तर आवाज उठाउँदै आएको बताए। सञ्चारकर्मी तथा पत्रकारहरूले पनि लोकतन्त्र र जनताको पक्षमा समाचारमार्फत महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको भन्दै उनले पत्रकारहरूलाई धन्यवाद तथा अभिवादन व्यक्त गरे।
बानियाँले सातै प्रदेशबाट महाधिवेशनमा सहभागी प्रतिनिधि तथा पाहुनाहरूलाई काठमाडौंमा हार्दिक स्वागतसमेत गरे।
उनले नेपाली कांग्रेसको नेतृत्वमा देशलाई परिवर्तनको दिशामा अघि बढाउनुपर्ने बताउँदै पार्टी सभापति गगनकुमार थापाको नेतृत्वमा कांग्रेसलाई रूपान्तरण गर्ने र मुलुकका चुनौतीको सामना गर्ने विश्वास व्यक्त गरे।
‘कांग्रेसलाई बदल्दै नेपाललाई बदल्ने’ अभियानलाई अघि बढाउन सबैसँग सहमति, सहकार्य र सहअस्तित्वको भावनाका साथ राष्ट्रिय राजनीतिमा अघि बढ्नुपर्ने उनको भनाइ थियो।
कांग्रेसको इतिहास स्मरण गर्दै बानियाँले राणा शासनदेखि राजतन्त्रविरुद्धको संघर्ष, लोकतान्त्रिक आन्दोलन र शान्ति प्रक्रियामार्फत मुलुकलाई निकास दिन कांग्रेसले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए।
कांग्रेस कुनै जात, धर्म वा सम्प्रदायका आधारमा राजनीति गर्ने पार्टी नभई मानवतालाई मूल आधार बनाएर सबै नागरिकको अस्तित्व र अधिकारलाई स्वीकार गर्दै अघि बढ्ने लोकतान्त्रिक पार्टी भएको उनले बताए।
१५औँ महाधिवेशनले पार्टीभित्र नयाँ एकता, ऊर्जा र दिशाको निर्माण गर्दै मुलुकलाई थप सुदृढ लोकतान्त्रिक बाटोतर्फ अघि बढाउने विश्वाससमेत बानियाँले व्यक्त गरे।


