प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान

संयोजक दाहाल–सम्बोधन बनेपा(काभ्रेपलाञ्चोक), १७ असोजः नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ काभ्रेपलाञ्चोकको धुलिखेलस्थित शनिबार आयोजित ऐतिहासिक एकता बैठक तथा शपथग्रहण समारोहमा सम्बोधन गर्नुहुँदै । तस्बिरः सनम सुवाल÷रासस
अ+
अ
अ-

काभ्रे । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश सरकारमा भइरहेको राजनीतिक सहकार्यलाई स्थानीय निर्वाचनसम्म विस्तार गर्नुपर्ने बताउनुभएको छ ।

धुलिखेलमा आज आयोजित एकता बैठक तथा शपथ ग्रहण समारोहमा उहाँले प्रदेश सरकारको सहकार्यलाई सरकार सञ्चालनमा मात्र सीमित नराखी राजनीतिक तथा वैचारिक रूपमा थप सुदृढ गर्नुपर्नेमा जोड दिनुभयो ।

“यो सहकार्यलाई प्रदेश सरकारमा मात्रै होइन, आउने दिनमा सदनभित्रको बहसमा र निर्वाचनसम्म सुदृढ गर्दै लैजानुपर्ने हुन्छ”, उहाँले भन्नुभयो । उहाँले बदलिँदो राजनीतिक परिस्थितिअनुसार सङ्गठन विस्तारलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । सूचना प्रविधिको प्रयोगमार्फत पार्टीको विचार र सङ्गठन विस्तार गर्न सकिने उल्लेख गर्दै उहाँले उपलब्ध जनशक्ति, सङ्गठन र क्षमताको प्रभावकारी उपयोग गर्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।

सो अवसरमा उहाँले कृत्रिम बौद्धिकता (एआई) को तीव्र विकासले रोजगारी, मानवीय सोच र सिर्जनशीलतामा पार्नसक्ने प्रभावबारे पनि चर्चा गर्नुभयो । एआईमा अत्यधिक निर्भर हुँदा मानिसको अध्ययन तथा सोच्ने अभ्यास कमजोर हुनसक्ने र प्रविधिका कारण श्रमिक विस्थापित हुने अवस्था आउनसक्ने उहाँले भन्नुभयो ।

विश्वका विभिन्न मुलुकले एआईबाट उत्पन्न हुनसक्ने चुनौती सम्बोधन गर्न नीति तथा कार्यक्रम अघि बढाइरहेको उल्लेख गर्दै उहाँले नेपालमा पनि प्रविधिको विकाससँगै त्यसका सामाजिक प्रभावबारे गम्भीरतापूर्वक सोच्नुपर्ने बताउनुभयो । संयोजक दाहालले विद्यमान राजनीतिक परिस्थितिबाट निरास नभई अनुशासित र धैर्यतापूर्वक सङ्गठन निर्माणमा लाग्न नेता तथा कार्यकर्तालाई आह्वान गर्नुभयो ।