काभ्रे–सिन्धुपाल्चोक जोड्ने चेरे पुल निर्माणमा ढिलाइ, सांसद भण्डारीको प्रश्न– ‘ठेकेदारले अहिलेसम्म के हेरे?’

अ+
अ
अ-

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बदन कुमार भण्डारीले काभ्रे र सिन्धुपाल्चोक जोड्ने चेहेरे पुल निर्माणमा भइरहेको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराएका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद भण्डारीले पाँच वर्षअघि निर्माण सुरु भएको योजना अझै सम्पन्न हुन नसकेको भन्दै सभामुखमार्फत सरकारसँग जवाफ मागेका हुन्। उनले निर्माणमा भइरहेको ढिलाइको कारण के हो भन्दै प्रश्न गरे।

करिब ११ करोड रुपैयाँ लागतको उक्त योजनामा निर्माण कम्पनीलाई पटक–पटक म्याद थपिएको भन्दै भण्डारीले त्यसको औचित्यमाथि समेत प्रश्न उठाए। उनले व्यंग्य गर्दै भने, ‘चेहेरे ठेकेदारले अहिलेसम्म के हेरे?’

काम नगर्ने निर्माण कम्पनीलाई पटक–पटक म्याद थपेर आयोजना अलपत्र पारिराख्नुको पछाडि कुनै स्वार्थ जोडिएको छ कि छैन भन्ने प्रश्न गर्दै उनले सरकारको ध्यानाकर्षण गराए। काम अघि बढाउन नसक्ने हो भने ठेक्का रद्द गरेर अर्को प्रक्रियाबाट निर्माण अघि बढाउनसमेत उनले आग्रह गरे।