डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

A medical team boards a mobile boat clinic on the banks of the Brahmaputra River in the Mukalmua village of Assam's Nalbari district on September 19, 2026. Hundreds of thousands of people in Assam state, crisscrossed by the Brahmaputra river, live on "chars", or temporary river islands and sandbars where access to even basic healthcare can be a challenge. But the network of mobile boat clinics has brought doctors, medicines, vaccines and basic laboratory services to 13 districts across the state. (Photo by Biju BORO / AFP)
+
-

भारतको आसाम राज्यका दुर्गम नदी टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै आएका मोबाइल डुङ्गा क्लिनिक स्थानीय बासिन्दाका लागि उपचारको मुख्य आधार बनेका छन् । ब्रह्मपुत्र नदीका ‘चार’ भनिने अस्थायी टापु तथा बालुवाका थुप्रामा बस्ने हजारौँ मानिसलाई यी क्लिनिकले चिकित्सक, औषधि, खोप र आधारभूत प्रयोगशाला सेवा दिँदै आएका छन् ।

आसाममा दुई हजारभन्दा बढी यस्ता नदी टापु रहे पनि धेरै ठाउँमा स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको अभाव छ । बाढी र नदी कटानको जोखिममा रहेका बस्तीमा नियमित स्वास्थ्य सेवा पु¥याउन कठिन हुने भएकाले सन् २००५ मा सेन्टर फर नर्थ इस्ट स्टडीज एन्ड पोलिसी रिसर्चले ‘आखा’ अर्थात् ‘आशा’ नामको डुङ्गा क्लिनिक कार्यक्रम सुरु गरेको थियो । सरकारी निकाय र युनिसेफको सहयोगमा अहिले १५ वटा डुङ्गा सञ्चालनमा छन् र महिनामा करिब २० हजार मानिसले सेवा पाइरहेका छन् ।

नलबारीको बरबल्ला नदी टापुका बासिन्दा रेकीबुल अमिनले आफूहरू डुङ्गा क्लिनिकमै निर्भर रहेको बताउनुभयो । उहाँका अनुसार स्थानीय बासिन्दाले आवश्यक औषधि यहीँबाट पाउँछन् र महिलाले विशेष लाभ लिएका छन् ।

क्लिनिकले विशेषगरी मातृ तथा शिशु स्वास्थ्यमा ध्यान दिएको छ । गर्भवतीको प्रसवपूर्व परीक्षण, शिशुको नियमित खोप र आधारभूत उपचार सेवा दिइँदै आएको डुङ्गा क्लिनिकका चिकित्सा अधिकारी हबीबुल हकले बताउनुभयो ।

तीन करोडभन्दा बढी जनसङ्ख्या रहेको आसाममा प्रतिहजार जीवित जन्ममा २९ शिशुको मृत्यु हुने गरेको छ भने पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर ३४ छ । राष्ट्रिय औसत क्रमशः २४ र २८ रहेको छ । त्यस्तै, प्रतिलाख जीवित जन्ममा आसामको मातृ मृत्युदर १२५ छ भने राष्ट्रिय औसत ८८ छ । गरिबी, निरक्षरता र दुर्गम भौगोलिक अवस्थाले स्वास्थ्य सेवामा पहुँच थप कठिन बनाएको छ ।

हकले बाढी र नदी कटानबाट प्रभावित दुर्गम ‘चार’ क्षेत्रका बासिन्दालाई स्वास्थ्य सेवा पुर्‍याउन पाउँदा खुसी लागेको बताउनुभयो । उहाँका अनुसार नियमित स्वास्थ्य संस्था पुग्न नसक्ने बस्तीका लागि डुङ्गा क्लिनिक महत्त्वपूर्ण स्वास्थ्य सेवाको माध्यम बनेका छन् ।