नेकपा एमालेका महासचिव शंकर पोखरेलले पछिल्लो समय पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई जनताले सुन्न र हेर्न नचाहेको अवस्था पैदा भएको बताएका छन्।
ललितपुरमा जारी एमाले केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै महासचिव पोखरेलले ओली नेतृत्वको सरकारले गरेका महत्वपूर्ण कामको पटक–पटक चर्चा गरिए पनि त्यसले जनतामा अपेक्षित प्रभाव पार्न नसकेको बताएका हुन्।
उनले भने, “अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वले धेरै महत्वपूर्ण काम गरेको छ। त्यसको पटक–पटक चर्चा गरियो, तर जनताले सुन्न चाहेनन्।”
पोखरेलले आन्दोलनका अघि र पछि ओलीलाई नेतृत्वमा देख्न जनताले सर्वस्वीकार्य रूपमा नचाहेको अवस्था बनेको टिप्पणी गरेका छन्। उनका अनुसार पछिल्लो राजनीतिक परिस्थितिमा ओली नेतृत्वप्रतिको जनधारणा पार्टीले गम्भीर रूपमा समीक्षा गर्नुपर्ने अवस्था आएको छ।
महासचिव पोखरेलले १५ सदस्यीय कार्यदलले तयार पारेको प्रतिवेदनमा अध्यक्ष ओलीले नेतृत्व छाड्नुपर्ने सुझावसमेत दिए ।


