चीनका राष्ट्रपति सी जिनपिङले यसै साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न अमेरिका भ्रमण गर्नुहुने बेइजिङले सोमबार पुष्टि गरेको छ । सरकारी विज्ञप्तिअनुसार उहाँ बुधबार अमेरिका पुगेर शुक्रबारसम्म त्यहाँ रहनुहुनेछ ।
अमेरिकी अधिकारीका अनुसार राष्ट्रपति ट्रम्पले बुधबार जोइन्ट बेस एन्ड्र्युजमा राष्ट्रपति सीलाई स्वागत गर्नुहुनेछ । त्यसको भोलिपल्ट दुई नेताबीच भेटवार्ता हुनेछ । “म उहाँसँग लगभग सबै विषयमा छलफल गर्नेछु”, राष्ट्रपति ट्रम्पले आइतबार पत्रकारहरूसँग भन्नुभएको थियो ।
विश्वका दुई ठूला अर्थतन्त्रबीच जारी व्यापार तनाव भेटवार्ताको प्रमुख विषय बन्ने अपेक्षा गरिएको छ । दुवै पक्षले करिब एक वर्षदेखि व्यापार युद्धमा अस्थायी युद्धविराम कायम राखे पनि स्थायी सम्झौता हुन सकेको छैन । व्यापारसँगै प्रविधि, कृत्रिम बौद्धिकता र आपूर्ति शृङ्खलाका विषयमा पनि छलफल हुने बताइएको छ ।
यसैबीच, चीनका उपप्रधानमन्त्री तथा व्यापारसम्बन्धी प्रमुख वार्ताकार हे लिफेङ अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टसँग वार्ता गर्न अमेरिकामै हुनुहुन्छ । उहाँहरूबीच आइतबार भएको वार्तामा एआईसम्बन्धी विषयमा सञ्चार संयन्त्र स्थापना गर्नेबारे छलफल भएको अमेरिकी पक्षले जनाएको छ ।
व्यापार र प्रविधिसँगै ताइवानसम्बन्धी विषयमा पनि दुई नेताबीच विचार आदानप्रदान हुने अपेक्षा गरिएको छ । यसबाहेक राष्ट्रपति ट्रम्पको इरानसँगको युद्ध र चीन–इरान सम्बन्धले पनि अमेरिका–चीन सम्बन्धमा थप जटिलता ल्याएको छ । दुवै देशबीच विभिन्न विषयमा मतभेद रहे पनि शीर्ष नेतृत्वको प्रत्यक्ष संवादबाट तनाव व्यवस्थापन गर्ने प्रयास भइरहेको छ ।


