इमरान खानका तीन बहिनी पक्राउ

+
-

पाकिस्तानका जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानका तीन बहिनीलाई पञ्जाब प्रहरीले पक्राउ गरी ३० दिनका लागि हिरासतमा राखेको उहाँको दल पाकिस्तान तहरीक–ए–इन्साफ (पिटिआई) ले जनाएको छ ।

पार्टीका अनुसार लाहोरस्थित अलीमा खानको घरमा छापा मारेर अलीमा, डा उज्मा र नोरीन खानलाई पक्राउ गरिएको हो । उनीहरूका एक पुरुष आफन्त तथा बालबालिकालाई पनि नियन्त्रणमा लिइएको भए पनि बालबालिकालाई पछि रिहा गरिएको पिटिआईले जनाएको छ । तीनै बहिनीलाई लाहोरस्थित कोट लखपत जेल पठाइएको बताइएको छ ।

लाहोरका उपायुक्तले सार्वजनिक व्यवस्था कायमसम्बन्धी कानूनअन्तर्गत उनीहरूलाई ३० दिन नजरबन्दमा राख्ने आदेश जारी गरेका थिए । पञ्जाब प्रहरीले घटनाबारे टिप्पणी गरेको छैन ।

यसैबीच, पिटिआईले सेप्टेम्बर २७ मा विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ । सूचना मन्त्री अत्ताउल्लाह तरारले भने प्रदर्शनको आह्वान अवैध भएको बताउँदै सडक अवरुद्ध गरी जनजीवन प्रभावित गर्न नदिइने बताउनुभएको छ ।

त्रिहत्तर वर्षीय खान सन् २०२३ देखि जेलमा हुनुहुन्छ । गत वर्ष उहाँ र उहाँकी श्रीमतीलाई भ्रष्टाचार मुद्दामा १७ वर्षको जेल सजाय सुनाइएको थियो । उहाँ सन् २०१८ देखि २०२२ सम्म पाकिस्तानको प्रधानमन्त्री रहनुभएको थियो ।