काठमाडौ । प्रतिनिधिसभा बैठकमा सांसद गंगा लक्ष्मी अवालेले बालबालिकामा बढ्दो ‘स्क्रिन टाइम’प्रति चिन्ता व्यक्त गर्दै सरकारले प्रभावकारी नीति र निगरानी संयन्त्र बनाउनुपर्ने बताएकी छन्।
उनले पछिल्ला केही वर्षयता मोबाइल फोन, सामाजिक सञ्जाल, अनलाइन गेम तथा अन्य विद्युतीय उपकरणको अत्यधिक प्रयोगका कारण बालबालिकामा विभिन्न मानसिक तथा शारीरिक समस्या देखिन थालेको बताइन्।
अभिभावकहरूले बालबालिकालाई व्यस्त राख्न मोबाइल फोन तथा अन्य इलेक्ट्रोनिक ग्याजेट हातमा थमाउने प्रवृत्तिले समस्या थप जटिल बनाएको उनको भनाइ थियो। बालबालिकाहरू अनलाइन गेम, युट्युब, टिकटक लगायतका प्लेटफर्ममा बिना रोकटोक संलग्न हुँदा उनीहरू विभिन्न जोखिममा पर्न सक्ने उनले बताइन्।
अत्यधिक सामाजिक सञ्जालको प्रयोगले बालबालिकाको ध्यान केन्द्रित गर्ने क्षमता र सिकाइ प्रक्रियामा समेत असर पुग्न सक्ने भन्दै सांसद अवालेले बालबालिकाको संरक्षणका लागि सरकारले बृहत् छलफल गरेर स्पष्ट नीति बनाउनुपर्नेमा जोड दिइन्।
उनले बालबालिकाको डिजिटल गतिविधि सुरक्षित र व्यवस्थित बनाउन प्रभावकारी निगरानी तथा संरक्षण संयन्त्र आवश्यक रहेको बताइन्।


